Logo
६ बैशाख २०८१, बिहीबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ सरकारद्वारा जनकपुरमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना

प्रदेश २ सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय संचालनमा ल्याएको छ । बुधवार एक समारोहबीच जनकपुरस्थित प्रादेशिक अस्पताल प्रारङ्गणमा मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले प्रतिष्ठानलाई अगाडि बढाउन हरेक किसिमको सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले सबै रोगको उपचार प्रादेशिक अस्पतालभित्रै होस् भन्ने जनताको वर्षौदेखिको आकांक्षा अब पूरा हुने विश्वास व्यक्त गरे ।

उनले विगतभन्दा अहिले अस्पतालको अवस्थामा सुधार आएको पनि दावी गरे । उनले भने, ‘अहिले सुरुवात हो । चिन्ता गर्नुपर्दैन । यही एमएस, एम्डी, एमबिबिएसलगायत सबै पढाइ हुन्छ ।’ उनले सरकारी अस्पतालमा काम गर्ने डाक्टरले निजी क्लिनिक संचालन गर्न नपाउने नीति प्रदेश सरकार बनाउन लागेको पनि बताए ।

‘पढ्दा पढ्दै डाक्टरको आधा उमेर बित्छ’, मुख्यमन्त्री राउतले भने, ‘पढेर काम गर्न खोज्दा जटिल नियुक्ति प्रक्रियाले समस्या पर्छ । बस्ने र काम गर्ने वातावरण बन्दैन । त्यसैले अब सबै समस्या समाधान गर्न चाहेका छौं ।’

उनले डाक्टरको तलब कम्तिमा डेढ लाख हुनुपर्ने पनि बताए । तलब सम्मानजनक नरहेकाले नै नीजि क्लिनिक संचालन गर्न डाक्टरहरु बाध्य हुने गरेको उनको भनाई थियो ।

यस्तै सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रतिष्ठानको कार्यालय स्थापना भएपछि अब प्रदेशबासीको ठूलो सपना पूरा भएको बताए ।
उनले भने, ‘सामान्य विरामी पनि प्रदेश १ वा प्रदेश ३ मा गएर उपचार गराउनुपर्छ ।

जसका कारण यस प्रदेशबाट धेरै रकम अन्य प्रदेशमा पुग्छ । त्यसैले पनि सबै रोगको उपचार होस् भन्ने उदेश्यले प्रतिष्ठान गठन भएको छ ।’

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्