Logo
७ बैशाख २०८१, शुक्रबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बदला लिनको लागि भागरथीको हत्या गरेको पुष्टि, एक युवक पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बैतडीको दोगडाकेदार-७ चडेपानी घर भएका दिनेश भट्टलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।मृतक भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले बदला लिन भागरथीको हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको छ ।

दुई परिवारबीच लामो समयदेखि रहेको विवादका कारण प्रतिशोध साँध्न हत्या गरेको भट्टले बयान दिएका छन् । स्रोतका अनुसार उनले विद्यालयबाटै पछ्याउँदै आएको भनेका छन् ।

दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा एकान्तमा भेटेपछि उनलाई घचेटेको आरोपीको बयान छ ।त्यसक्रममा झाडीमा लडाएर हत्या गरेको उनले भनेका छन् ।

दिनेश भागरथीकै छिमेकी हुन् । उनले आफूले बदला लिन हत्या गरेको स्वीकारेका छन् ।जिल्ला अस्पताल बैतडीमा भएको पोष्टमार्टम रिपोर्टले भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको थियो ।

पक्राउ परेका दिनेशलाई प्रहरीले आज(बुधबार) सार्वजनिक गर्ने जानकारी दिएको छ ।१३ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो।

त्यसपछि पीडित पक्षले हत्यारा पत्तालगाइ कारबाही गर्न आन्दोलन गर्दै आएको थियो ।

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्