Logo
७ बैशाख २०८१, शुक्रबार
(February 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुन १ देखि सौराहा खाद्य महोत्सव हुने

सौराहा खाद्य महोत्सव आगामी फागुन १ देखि ३ गतेसम्म हुने भएको छ । कोभिड–१९ का कारण यस वर्षको महोत्सव खुला चौरमा नभई सडकमा गरिँदै छ ।

रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा कार्यक्रम हुँदैछ । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहाको गैँडाचोकदेखि हात्ती चोकसम्म सडकमा महोत्सव गर्न लागिएको बताए । यो १५ औँ महोत्सव हो ।

यसअघिका वर्षमा सिसुवार खेल मैदानमा सांस्कृतिक कार्यक्रमसहित महोत्सव हुने गर्दथ्यो । यस वर्ष भने दैनिक विभिन्न जातिका झाँकीसहित महोत्सव गरिँदै छ ।

खतिवडाले थारु, मगर, चेपाङ, कुमाल, तामाङलगायत जातजातिका झाँकीसँगै पञ्चेबाजा, खैचडी प्रस्तुतीकरणका लागि गृहकार्य भइरहेको जानकारी दिए ।

उनले भने, “साँझ ५ बजेपछि दैनिक सातरआठ वटा जातिका झाँकी प्रदर्शनका लागि गृहकार्य गरिरहेका छौँ ।” कोरोना कहरका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै भीडभाड कम गरेर सौराहा खुलेको छ भन्ने सन्देश प्रवाह गर्ने गरि महोत्सव गरिने उनको भनाइ छ ।

महोत्सवमा नयाँ र स्वादिला खाना तयार गर्न अनुरोध गरिँदै छ । कोरोना सङ्क्रमण कम हुँदै गएपछि सौराहामा पर्यटकको चहलपहल बढेको छ ।

बिदाका दिनमा होटल आन्तरिक पर्यटकले आधाभन्दा बढी भरिने गरेका छन् भने अन्य दिनमा पनि पर्यटकको सङ्ख्या बढ्दो रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

आन्तरिकरुपमा बजारीकरणमा सौराहाका व्यवसायी जुटेका छन् । उनीहरुले गत महीना पूर्वी नेपालमा घुमौँ सौराहा अभियान लिएर पुगेका थिए ।

अभियानका संयोजक सुमन घिमिरेले फरक ढङ्गबाट नियमित प्रचारप्रसार गरेर सौराहाको व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन आफूहरु लागि परेको बताए ।

उनले भने, “महोत्सवले पनि सौराहाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।” चितवन नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु र विभिन्न जातिका संस्कृति हेर्न आउने गर्दछन् ।

दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघलगायत जनावर आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणका केन्द्र बन्ने गर्दछन् ।

सन् २०२१ मा ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्रने र सन २०२२ सँगै आन्तरिक र बाह्य पर्यटकको आगमन उल्लेख्यरुपमा बढ्ने व्यवसायीको अपेक्षा रहेको छ । निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा १२० होटल र १०० हाराहारी रेष्टुराँ रहेका छन् ।

प्रकाशित मिति: Feb 5, 2021

प्रतिक्रिया दिनुहोस्