Logo
१५ चैत्र २०८०, बिहीबार
(February 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजको संस्कृति : सफा कोठा तर फोहोर आँगन र टोल

करिव दुई दशक अघि ग्वार्कोबाट सातदो बाटो जाने बाटो सम्झदा पनि अहिले कहाली लाग्छ ।

फोहोरको भीमकाय डङ्गुरको गन्धले गर्दा विद्यालय जाँदा ठूलो झोला बोके पनि १५ मिनेटको बाटो ५ मिनेटमा सिध्याउने हिसाबले कुद्यौं ।

बाल मस्तिष्कमा यो काठमाडौंको डम्पिङसाइट हो जस्तो लाग्थ्यो । दुर्गन्धको साटो त्यतिबेला वरपरको लहरे पिपलको अप्रदुषित हावा सरर लिन पाएको भए विद्यार्थी जीवनको त्यो अगाध थकाइले त्यहाँ विश्राम पाई अविष्मरणीय याद बनेर रहने थियो ।

यसो भनिरहँदा विगतको तुलनामा आजको समाज वातावरणीय हिसाबाट स्वच्छ देखिन्छ, कमसेकम त्यत्रा फोहरका ह्रास वरपर त देखिँदैन । तर त्यसको शिकार नदीनाला, पोखरी बनि रहँदा के फोहरमैलाको व्यवस्थापन बदलिँदो व्यवस्था, समाज, कानुन र विकासको मोडलले परिकल्पना गरे अनुरुप न्यायोचित र वैज्ञानिक हुन सकेको छ त ?

आफनो टोल आफै सफा राखौ जथाभावी फोहर नफालौ, फोहरमैला वर्गीकरणका लागि बाल्टिन वितरण, सफा नेपाल सुखी नेपाली, किन फाल्ने फोहर बनाउ यसलाई मोहर, स्मार्ट सिटीको विकास, हरियाली शहर, स्वस्थ्य र सन्तुलित पर्यावरण, प्रदुषणमुक्त र स्वच्छ वातावरण, उर्जा उपभोगमा नवीकरणीय उर्जाको प्रयोग, पर्यावरणीय सन्तुलन र दिगो उपयोग जस्ता नारा र कार्यक्रमहरु लाई व्यवहारमा उतार्नु ठूलो चुनौतीको विषय बनेको छ ।

मानव स्वास्थ्यको रक्षा र वातावरण संरक्षण राज्यको दायित्व भित्रको विषय हो । वातावरण संरक्षणले प्राकृतिक, सामाजिक, सास्कृतिक, आर्थिक र मानव क्रियाकलापसँग अन्तरनिहीत र अन्तर सम्बन्धित हुन्छन् ।

नेपालको संविधान, २०७२ को धारा ३० ले वातावरणीय अधिकारलाई (Right to Environment) भनी मौलिक हकको रुपमा सुनिश्चितता गर्दै वातावरणको अधिकार लाई सुनिश्चित गरेको छ । वातावारणको हक मौलिक हकको रुपमा रहेकोले नागरिकहरुले संविधान एवं अदालत बाट वातावरणीय अधिकारको सुनिश्चितता गर्न सक्दछन् । वातावरणको अधिकार अन्तर्गत मानव निर्मित क्रियाकलापबाट वातावरणमा पर्ने असर र त्यसको मानव जीवन र स्वास्थ्यमा पर्ने असर आफैमा असवैधानिक र कानून विपरितको कार्य हो ।

दिगो विकास कार्यक्रम SDG’s – (Sustainable Development Goals)  २०३० अन्तर्गत फोहरमैला व्यवस्थापन लाई १७ मध्ये १२ वटा सँग प्रत्यक्ष रुपमा अन्तर्सम्बन्ध राख्ने विषयको रुपमा प्रष्ट्याइएको छ जसको सम्बन्ध समाज, अर्थतन्त्र र पर्यावरणका तीन मूलपाटालाई हरदम प्रभाव पारिरहन्छ ।

त्यसैले यसको प्रभावकारी व्यवस्थापनमा चुक्दा दिगो विकास लक्षित उद्देश्यहरु प्राप्त नहुने चुनौतीहरु टड्कारो रुपमा देखिन्छ ।

फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहरमैलालाई स्रोतमै न्यूनीकरण, पुनःप्रयोग, प्रशोधन वा विसर्जन गरी स्वस्थ्य वातावरण कायम गर्नको लागि फोहरमैलाको परिभाषा लाई व्यापक बनाएको छ ।

निजी क्षेत्रको सहभागिता, सार्वजनिक निजी साझेदारी व्यवस्थापन, स्थानीय तहको जिम्मेवारी र जवाफदेहिता, दण्ड सजायमा प्रभावकारिता आदि यसका विशेषताहरु हुन् । तर के प्रमुख जिम्मेवारी पाएको स्थानीय तहले यस कार्यको सम्पादन र समन्वय राम्ररी गर्न सकेको छ त ? भक्तपुर जिल्लामा नेप्सेम्याक, फुलवारी, स्वच्छ वातावरण, दिव्यश्वरी, विन्ध्यावासीनी गरी केहीले फोहरमैला सङ्कलन गरिरहेका छन् ।

जनसंख्याको अनुपातमा यिनीहरुको संख्यात्मक पर्याप्तता र स्थानीय निकायको अनुगमनको अभावमा गुणात्मक परिक्षण हुन नसकी रहेको देखिन्छ ।

निजी कम्पनीलाई टेन्डर दिने, अनुगमन गर्ने, प्राविधिक सहयोग प्रदान गर्ने, कामको मूल्यांकन गर्ने र आवश्यक समन्वय गर्ने जिम्मेवारी स्थानीय निकायले प्रभावकारी रुपमा गर्न नसक्दा ऐनको मर्म पूरा भएको देखिँदैन ।

ऐनले “रासायनिक फोहरमैला” भन्नाले यथास्थितिमा प्रयोग हुन नसक्ने जुनसुकै स्रोत तथा प्रक्रियाबाट निस्केका मानव स्वास्थ्य लगायत जीव, जन्तु एवं वातावरणमा प्रतिकूल असर पार्ने सम्पूर्ण रासायनिक पदार्थहरु वा समय समयमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी रासायनिक फोहरमैला भनी तोकेका ठोस, तरल, धुलो, लेदो, ग्यास लगायतका पदार्थ वा वस्तुलाई सम्झनु पर्छ भनी परिभाषा गरेको छ ।

“विसर्जन” भन्नाले फोहरमैलाको अन्तिम निष्काशन तथा व्यवस्थापन भन्ने सम्झनु पर्छ ।
फोहरमैलाको व्यवस्थापन गर्न स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेशन), ल्याण्डफिल साइट, प्रशोधन प्लाण्ट, कम्पोष्ट प्लाण्ट, बायो ग्यास प्लाण्ट लगायत फोहरमैलाको सड्ढलन, अन्तिम विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहको हुनेछ ।

फोहरमैला सड्ढलन केन्द्र, स्थानान्तरण केन्द्र वा प्रशोधन स्थलमा फालिएको वा राखिएको फोहरमैला वा सरसफाईको सिलसिलामा जम्मा भएको फोहरमैलाको प्रबन्ध गर्ने वा कुनै पनि किसिमबाट प्रयोग गर्ने जिम्मेवारी स्थानीय तहको हुनेछ ।

हानिकारक फोहरमैला, स्वास्थ्य संस्था जन्य फोहरमैला, रासायनिक फोहरमैला वा औद्योगिक फोहरमैला प्रशोधन र व्यवस्थापन गर्ने दायित्व निर्धारित मापदण्डको अधीनमा रही त्यस्तो फोहरमैला उत्पादन गर्ने व्यक्ति वा निकायको हुने जिम्मेवारी तोकेको छ ।

कुनै व्यक्ति, संस्था वा निकायले कुनै काम कारोबार गर्दा उत्पन्न हुने फोहोरमैला यथाशक्य कम गर्नु पर्नेछ ।

आफनो क्षेत्रभित्र (निजी घर कम्पाउण्ड, औद्योगिक क्षेत्रको परिसर, अस्पताल वा स्वास्थ्य संस्थाको परिसर, औद्योगिक प्रतिष्ठानको परिसर लगायत ) विसर्जन हुन सक्ने फोहरमैलाको विसर्जन वा पुनः प्रयोगको व्यवस्था मिलाई बाँकी फोहरमैला मात्र निष्काशन गरी फोहरमैलाको परिमाणलाई घटाउनु प्रत्येक व्यक्ति, संस्था वा निकायको कर्तव्य हुनेछ ।

कुनै उद्योग वा स्वास्थ्य संस्थाले हानिकारक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, रासायनिक फोहरमैला तथा औद्योगिक फोहरमैला प्रशोधन गरी बाँकी रहेको फोहरमैला तथा अन्य फोहरमैलाको व्यवस्थापन गरिदिन स्थानीय तहलाई अनुरोध गरेमा वा स्थानीय तहले निर्माण गरेको फोहरमैला व्यवस्थापन स्थल प्रयोग गर्न माग गरेमा स्थानीय तहले निर्धारण गरे बमोजिमको सेवा शुल्क लिई फोहोरमैलाको व्यवस्थापन गरिदिन वा त्यस्ता उत्पादकलाई फोहोरमैला व्यवस्थापन स्थल प्रयोग गर्न दिन सक्नेछ ।

फोहोरमैलालाई स्रोतमै छुट्याई सड्ढलन केन्द्रसम्म पुर्‍याउनले दायित्व त्यस्तो फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायको हुनेछ र यसको लागि स्थानीय तहले आवश्यक प्रविधि, मालसामान, उपकरण, कण्टेनर आदि उपलब्ध गराउन सक्नेछ ।

फोहरमैला व्यवस्थापन गर्दा निजी क्षेत्रका कम्पनीको हकमा देहायका सबै वा कुनै र सामुदायिक एवं गैरसरकारी संघ, संस्थाको हकमा देहायका कुनै काम गराउन सकिनेछ-

(क) फोहरमैला न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, (ख) फोहरमैला सड्ढलन, (ग) फोहरमैला ढुवानी,
(घ) फोहरमैलाको प्रयोग, पुनः प्रयोग, पुनः चक्रीय प्रयोग वा प्रशोधन, (ङ) फोहरमैला विसर्जन, र (च) व्यवस्थापन ।
ऐनले फोहरमैला व्यवस्थापन सँग सम्बन्धित कसूर गर्ने जो कोही व्यक्ति लाई कसूरको मात्रा अनुरुपको जरिवाना, कैद र सेवा सुविधा समेत रोक्का गरिदिने गरी स्थानीय तहले सम्बन्धित निकायमा लेखी पठाउने र रोक्का गरिदिन सक्न गरी सजायको समेत व्यवस्था गरेको छ ।

यस पृष्ठभूमीमा रही ऐनमा उल्लेख भए बमोजिम फोहरमैला लाई कम्तीमा स्रोतमै जैविक र अजैविक भनेर पृथकीकरण कतिले गर्न सकेका छौ ? काठमाडौं उपत्यका बाट निस्काशित फोहोर मध्ये ७०% जैविक फोहरले ओगट्ने गरेको छ जसको प्रशोधन गर्न सके करेसावारीमा मलको अभाव नहुने र कौसी खेती पनि मौलाउने देखिन्छ ।

प्लाष्टिक, टायर, सिसा, स्वस्थ्यजन्य फोहर (म्याद नाघेका औषधीहरु, सुइहरु), विद्युतीय फोहरमैला ९ब्याट्री , जलेका चीम, काम नलाग्ने तार), पुराना लुगाफाटा र जुताहरुको व्यवस्थापन चुनौतीपूर्ण देखिन्छ । पुनःप्रयोग र पुनःचक्रीय प्रयोगको अवस्था कानुनमा लेखे बमोजिम कार्यान्वयन भएको छ त ? केवल दुई चार जनाले प्लास्टिकहरु स्थानान्तरण केन्द्रबाट टिप्दैमा र जैविक फोहरलाई केही सुंगुर पाल्ने कृषकले छान्दैमा यसको निराकरण भयो भनेर सोच्नु कतिको स्वीकार्य होला त ?

प्लष्टिक निषेध गर्ने केही समय अगाडिको लहड सही थियो जस्तो लाग्छ तर केवल व्यवस्थापन र इच्छाशक्तिको कमीले गर्दा राज्यले वातावरण मैत्री पहल कडाइका साथ लागू गर्न सकेन । फलस्वरुप यसको शिकार हुन पुगेको हनुमन्ते, मनोहरा, वागमती, विष्णुमती वरपरका प्लाष्टिकका थुप्राहरु देख्दा र दुर्गन्ध भोग्दा मन आघात हुन्छ ।

“यहाँ फोहर फाल्न मनाही छ” लेखेकै मुनी त्यस्ता थुप्रा देख्दा यो सभ्यता उँभो होइन उँधोतिर उन्मुख छ जस्तो लाग्छ । तर हामी केवल मूकदर्शक बनिरहेका छौं । अझ खोलानाला वरपर फोहरमेैला व्यवस्थापनका लािग छुट्याइएका स्थानान्तरण केन्द्रहरु -विशेष गरी जडिबुटी वरपर मनोहरा मुनी) देख्दा वातावरण र पर्यावरण प्रतिको हाम्रो व्यक्तिगत र राज्यका निकायको सोच कति त्रुटीपूर्ण र दिग्भ्रमित पार्ने रहेछ जस्तो आभाष हुन्छ ।

उपत्यकामा दैनिक २० टन फोहरमैला खुला आकाश मुनी बाल्ने गरिन्छ जसले गर्दा हावाको प्रदुषण हाल बढ्न गई AQI  प्राण घातक (Hazardous) सम्म पुग्ने अवस्था सृजना भयो । Public Health Emergency घोषणा गर्नुपर्ने कानुनी बाध्यता उत्पन्न भए पनि संघ र प्रदेश सरकार यसमा मौन देखिन्छन् ।

केही समय अघि मात्रै भद्रकाली स्थित सैनिक व्यारेक भित्र टायर बाल्दा पूरै आकाश दुषित भई रिङ्गटा लाग्ने परिस्थिति निर्माण गरिएको सम्झदा अचम्म लाच्छ । जिम्मेवार निकाय यसरी फोहरमैलाको उचित व्यवस्थापन प्रति उदासिन रहनुले हामी माझ चेतनाको कमी र सम्वेदनहीनता दर्शाउँछ ।

यस विषयमा आजको समाज लाई नियाल्दा समस्याको चुरो प्रष्ट हुन्छ । व्यक्तिवादी चरित्र हावी भएको, जिम्मेवारी बोध नभएको, समाज प्रतिको उत्तरदायित्वको अनुभूति न्युन रहेको र विसङ्गतिहरु प्रति मौन रहने संस्कृति मौलाएको देखिन्छ ।

घर निर्माण सामग्री रोडा, ढुंगा, बालुवा आदि सडकमा थुपार्ने र ढल निकास बन्द गरी आफ्नो घरतिर मात्रै हेर्ने कुन संस्कृतिको परिचय दिइरहेछौं ? विडम्बना आज हाम्रा कोठा हिजो भन्दा सफा र राम्रा छन् तर त्यही फोहर बाटोमा निकाल्दा कुकुरले यत्रतत्र छरर्र्दिँदा त्यो उठाएर फेरी समेट्ने चेतना राख्दैनौ । सफा र सजिव वातावरण, पर्यावरण बाट दुर्गन्धित र फोहरी टोल र नदीनालाले कुन खाले विकासको सुत्रपात गरिरहेको छ?के हामी सबैले हाम्रो कानुनी दायित्व र नैतिक जिम्मेवारी वहन गरेका छौं ?

यसरी हेर्दा के देखिन्छ भने फोहरमैलाको व्यवस्थापनमा राज्यको दायित्व स्थानीय तह देखि प्रदेश र संघमा र आम नागरिकको राज्य प्रतिको कानूनी र नैतिक जिम्मेवारी बाट मात्र समस्यको समाधान गर्न सम्भव देखिन्छ ।

समाजको ऐना भनेको समाज भित्रको मुल्य, मान्यता, सस्कृति र सभ्यताहरु हुन् । व्यक्तिवादी सोंच भन्दा माथि उठेर समुदाय र समाज विकासको कार्यमा लाग्नु नै एक असल नागरिकको कर्तव्य हुनेछ । सफा कोठा फोहर आगँन र टोल समाजको प्रतिविम्ब एक उदाहरण मात्र हो ।

तसर्थ संस्कृतिको विकास र प्रयोग दुवै आम नागरिकको तह बाट हुने भएकोले आँगन र टोल सफा राख्ने विषयमा सचेत र सजग बनौ ।

प्रकाशित मिति: Feb 3, 2021

प्रतिक्रिया दिनुहोस्