Logo
१२ बैशाख २०८१, बुधबार
(January 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाविरूद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले लगाउने

नेपाल सरकारले भोलि (बुधबार)बाट सुरु गर्ने कोरोना भाइरसविरूद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे काठमाडौंको तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ।

जसमा टेकु अस्पताल, टिचिङ अस्पताल र एपिएफ अस्पताल छन्।निर्देशक राजभण्डारीले तीन वटा अस्पतालमा एकैपटक खोप लगाउन सुरू गरिएपनि सुरूमा टेकु अस्पतालमा लगाइने जानकारी दिए।

उनले आफूसहित टेकु अस्पतालका सबै स्वास्थ्यकर्मीले खोप लगाउने बताए।अस्पतालले बनाएको खोप लगाउने सूचीमा निर्देशक राजभण्डारी पहिलो नम्बरमा छन्। त्यसपछि सरूवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले खोप लगाउने छन्।

निर्देशक राजभण्डारीले आफूले सुरूमा खोप लगाएपछि सकारात्मक सन्देश प्रवाह हुने भन्दै भने, ‘अहिले खोपलाई लिएर केही नकारात्मक सन्देशहरू पनि आइरहेका छन्। स्वास्थ्यकर्मीहरू पनि अन्यौलमा देखिएका छन्। यसरी मैले सुरूमा खोप लगाएपछि अन्य स्वास्थ्यकर्मीहरूले लगाउनुहुन्छ।’

उनले टेकु अस्तपालबाट झन्डै २५ सय जना फ्रन्टलाइनरर्सलाई खोप लगाइने जनाए। जसमा अस्पतालका स्वास्थ्यकर्मी, काठमाडौं महानगरपालिका स्वास्थ्यकर्मी र सफाइकर्मी रहेको निर्देशक राजभण्डारी बताउँछन्।

उनले बिहान १० बजेदेखि २ बजेसम्म खोप सेवा प्रवाह गरिने बताए।सरकारले बुधबारदेखि देशव्यापी रूपमा खोप अभियान सुरू गर्न लागेको हो।

त्यसका लागि सातै प्रदेशमा खोप पुर्‍याइएको स्वास्थ्य सेवा विभागले जनाएको छ।सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोप सुरूमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीलाई लगाउन लागेको हो।

विभाग अन्तर्गतको खोप महाशाखा स्रोतले ४ लाख ३० हजार जनालाई खोप लगाउने तयारी रहेको बताएको छ ।

 

प्रकाशित मिति: Jan 26, 2021

प्रतिक्रिया दिनुहोस्