Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पालिकाको जनप्रतिनिधि सहकारीको प्रबन्धक रहेको खुलासा

प्रदेश १ स्थित सङ्खुवासभाको पाँचखपन नगरपालिकाका एक जनप्रतिनिधि सहकारीको कर्मचारी रहेको खुलेको छ । नगरपालिका क्षेत्रमा मल बिक्री वितरण गर्नेसमेत जिम्मेवारी रहेको सहकारीले वानामा सेवा केन्द्र सञ्चालन गरिरहेको छ ।

पाँचखपन नगरपालिकाका कार्यपालिका सदस्य सीता तामाङ नगरपालिकामा रहेको गुप्तेश्वर साना किसान कृषि सहकारी संस्थाको प्रबन्धक पदमा कार्यरत रहेकी छन् ।

उनी नगरपालिकाको कार्यपालिका सदस्य मात्र नभई न्यायिक समितिका सदस्य, सामाजिक विकास समितिका संयोजकसमेत रहेकी छन् । उनले सहकारीबाट मासिक १७ हजार रुपैयाँ तलब बुझ्ने गरेकी छन् ।

उक्त सहकारीमा ३ जना कर्मचारी रहेका छन् । १ जना स्थायीसहित उनै तामाङ सहकारीको विशिष्ट प्रबन्धक पदमा रहेको सहकारी संस्थाका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए ।

नगरपालिका सेवा क्षेत्र रहेको सहकारीमा रहेका कर्मचारीले व्यवस्थापनका काम र शेयर सदस्यहरूको नियमित बचतका विषयमा प्रमुख भूमिका निर्वाह गर्ने गरेको छ ।

अधिवक्ता भवानीप्रसाद आचार्यका अनुसार जो कोही जनप्रतिनिधिहरू कुनै निजी तथा सरकारी सङ्घ–संस्थामा कर्मचारीको रूपमा रहन नमिल्ने बताउँछन् ।

लाभको पदधारण गरेका व्यक्तिले त्यसबाट राजीनामा दिएर मात्र चुनावमा उम्मेदवार हुनुपर्ने प्रष्ट व्यवस्था हुँदाहुँदै निर्वाचन आयोगले तत्कालीन अवस्थामा सूचना लुकाइएको कारण छुट हुन गएको हुनसक्छ ।

तत्कालीन अवस्थामा विवाद नआएकै कारण पनि उनले छुट पाएको हुनसक्ने अधिवक्ता आचार्यको भनाइ छ ।

‘निहित स्वार्थमा रहेर अवैधरूपले निर्वाचनमा सहभागी भई दोहोरो पदधारण गर्नु गैह्रकानूनी ठहर्छ’ अधिवक्ता आचार्यले भने, ‘यसलाई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, भ्रष्टचार निवारण ऐन, निर्वाचन आयोग ऐनलगायतले रोक्न सक्नुपर्छ ।’

उक्त ऐनको आधारमा कुनै एउटा पदमा मात्र कायम रहनु र अवैध रूपमा रहेर प्राप्त गरेका अवैध कालको बेरुजु रकम असुल उपर गर्नुपर्ने व्यवस्था छ ।

यता सीता तामाङ भने सहकारी संस्था भएकैले पनि काम गर्न मिल्ने दाबी गर्छिन् । निर्वाचनताका नै जागिर गर्दै जनप्रतिनिधि हुन मिल्ने भएपछि चुनावमा सहभागी भएको उनले बताइन् ।

उनी सहकारीको कामबाहेक अन्य समयमा जनप्रतिनिधिको रूपमा काम गर्छिन् । कार्यपालिका सदस्य हुँदैमा सहकारीको कर्मचारी हुन कुनै पनि ऐनले नछेक्ने उनको दाबी छ ।

उनी र उनका पतिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दर्ता भइसकेको छ ।उनका पति रामजी बम्जन सोही सहकारीको सचिव पदमा कार्यरत छन् ।

उनी खप्टुवा माध्यमिक विद्यालयका शिक्षक हुन् । दुवैको मिलेमतो र अन्यलाई अनुचित प्रभावमा पारी सार्वजनिक लाभको पदधारण गरेर दोहोरो सुविधा लिनेसँगै अनियमितता गरेको भन्दै आयोगमा नाम गोप्य राखी उजुरी दर्ता भएको हो भन्दै धरानको ब्लाष्ट दैनिकमा खबर छ।

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्