Logo
१३ बैशाख २०८१, बिहीबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशमा सङ्कट आएको समयमा पत्रकारले खेल्ने भूमिका महत्वपूर्ण हुन्छ : मुख्यमन्त्री राउत

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले देशमा सङ्कट आएको समयमा पत्रकारले खेल्ने भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १०औँ साधारणसभामा उनले देशमा सङ्कट आएको समयमा पत्रकारले खेल्ने भूमिका महत्वपूर्ण भएको बताए ।

कुनै पनि अधिकार प्राप्तिको आन्दोलन होस् या देशलाई सङ्कट परेको खण्डमा पत्रकारले गरेको योगदान महत्वपूर्ण हुने उनले बताए । सञ्चार क्षेत्रको विकासबिना देशमा सुशासन र समृद्धिको कल्पनासमेत गर्न कठिन रहेको बताउँदै मुख्यमन्त्री राउतले सञ्चारगृहको विकास हुनुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासका लागि छिट्टै सञ्चार प्राधिकरण गठन र मिडिया काउन्सिलसम्बन्धी कार्य अगाडि बढाउन लागेको जानकारी दिँदै उनले प्रदेश सरकार सञ्चार क्षेत्र र पत्रकारको हकहित र उनीहरूको स्तरवृद्धि र समस्याप्रति गम्भीर रहेको उल्लेख गरे ।

सप्तरी जिल्ला आन्दोलनको ऐतिहासिक भूमि रहेको भन्दै मुख्यमन्त्री राउतले मधेसी समुदाय उत्पीडित, पिछडिएका वर्ग, दलित, जनजाति, मुस्लिम, महिलाले अधिकार प्राप्तिका लागि समय समयमा विभिन्न आन्दोलनसमेत गरेको बताए ।

मिडियाको भूमिका अग्रस्थानमा भए मात्र लोकतन्त्र सुरक्षित रहने उनको भनाइ थियो ।कार्यक्रममा प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रेस स्वतान्त्रका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले बर्सेनि आउने बाढीले क्षतिग्रस्त र डुबान हुने सप्तरीको पूर्वी भेगका जनताको समस्याका लागि प्रदेश सरकारले पनि चासो लिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Jan 17, 2021

प्रतिक्रिया दिनुहोस्