Logo
४ बैशाख २०८१, मंगलबार
(January 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम्युनिष्टलाई जनताले दुई तिहाई सिटमा जिताएर अपराध गरे : राजेन्द्र महतो

जसपा नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिष्टलाई करिब दुई तिहाई सिटमा जिताएर जनताले अपराध गरेको बताएका छन् ।

प्रदेश नं २ स्थित जनकपुरमा सोमबार आयोजित विशाल जनप्रदर्शन तथा विरोधसभामा विघटित प्रतिनिधिसभाका सदस्य समेत रहेका नेता महतोले कम्युनिष्टलाई जनताले करिब दुई तिहाई सिटमा जिताएर अपराध गरेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई विघटन गरेर जनताको मताधिकारको कदर नै नगरी हत्या गरेको आरोप लगाउँदै उनले देशमा दुर्घटना निम्त्याएको बताए ।

उनले प्रतिनिधिसभा विघटन संसदीय व्यवस्था, लोकतन्त्र र संवैधानिक व्यवस्था माथि समेत गम्भीर प्रहार गरेको आरोप लगाए ।

उनले संविधानलाई टेकेर बनेको सर्वोच्च संस्था प्रतिनिधिसभालाई प्रधानमन्त्री पद बचाउनका आफ्नै पार्टी भित्रको विवादको सामना गर्न नसक्दा अकालमा हत्या गरेर निरंकुश र तानाशाही बनेको आरोप लगाउदैँ आक्रोश समेत पोखे ।

उनले आफुहरु चुनावको पक्षमा नरहेको भन्दै भने, सर्वोच्च अदालतले संसद पुनःस्थापना नगरि चुनावमा जाने निर्णय गरेमा मुलुक र जनताका लागि नजिर बन्ने र आउने दिनमा दुई तिहाई मत ल्याउने पार्टी र प्रधानमन्त्री बन्ने नेताले देशलाई आफ्ना स्वार्थका लागि जुनसुकै बेला विघटन गर्न सक्ने भएकाले संसद पुनःस्थापना नै उपयूक्त हुनेछ ।

मधेसी जनताको छातीमा गोली हानेर काँग्रेस, एमाले र माओवादीले फास्ट ट्रयाकको नाममा संविधान निर्माण गरेपनि मधेसी जनता पुनः अधिकार पाउनबाट ओलीले बञ्चित गरेको बताए ।

उनले भने, जुन दिन मधेशी जनताको छाती माथि गोली चलाएर संविधान निर्माण गरियो, त्यही दिन देशमा प्रतिगमन आइसकेको थियो ।

विरोधसभामा जसपाका अर्का नेता शरत्सिंह भण्डारीले प्रधानमन्त्री ओली जनताको दुश्मन रहेको आरोप लगाए । पूर्वमन्त्रीसमेत रहेका भण्डारीले ओलीले संसद विघटन गरेर देशमा राजनीतिक अस्थिरता निम्त्याएर वितण्डा मचाएको बताए ।

 

 

प्रकाशित मिति: Jan 12, 2021

प्रतिक्रिया दिनुहोस्