Logo
१२ बैशाख २०८१, बुधबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुर भन्छन् : ‘अदालतप्रति पूर्ण विश्वास गर्दै पर्ख र हेरको स्थितिमा छौं’

जसपाका अध्यक्ष महन्थ ठाकुर संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पर्ख र हेरको स्थितिमा रहेको बताएका छन् ।

पार्टी निकट प्रेस नेपालले भैरहवामा आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतप्रति पूर्ण विश्वास गर्दै पर्ख र हेरको स्थितिमा रहेको बताएका हुन् ।

ठाकूरले भने, ‘हामी पर्ख र हेरको स्थितिमा छौं, अदालतप्रति पूर्ण विश्वास छ, त्यसैले अगाडिको रणनीति त्यसपछि मात्र निर्धारण गरिनेछ ।’

प्रतिनिधिसभा विघटन संविधान विपरीत भएकाले यसविरुद्ध आफ्नो पार्टीले सबैभन्दा पहिले आन्दोलन सुरु गरेको र विरोधमा जनताको व्यापक सहभागिता भएबाट आन्दोलन सफल भएको अध्यक्ष ठाकुरले दाबी गरे ।

तत्कालीन मधेशवादी दलहरुसँग गरिएका सहमति उल्लंघन गरेर संविधान बनाइएकाले आफ्नो पार्टीले सुरुदेखि नै संविधान त्रुटिपूर्ण छ भन्दै संशोधन हुनुपर्ने माग राख्दै आएको ठाकुरले स्मरण गरे ।

ठाकुरले संसद पुनर्स्थापना नभएर चुनावमा जानु परे पनि आफ्नो पार्टी त्यसको लागि तयार रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओली र अहिलेको संरकार संघीयता विरोधी भएको आरोप लगाउँदै ठाकुरले हालको संघीय संरचनाप्रति पार्टीको असहमति कायमै रहेको बताए ।

जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र राज्य पुनःसंरचना आयोगको प्रतिवेदनका आधारमा प्रदेशहरुको सीमांकन र नामांकन हुनुपर्ने आफूहरुको माग यथावत रहेको ठाकुरले बताए ।

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्