Logo
५ बैशाख २०८१, बुधबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्वभाविक रूपमा बढ्यो खानेतेलको मूल्य

दैनिक नभई नहुने खानेतेलको मूल्य अत्यधिक बढेको छ । बजारमा तेलको मूल्य अस्वभाविक रूपमा बढेपछि उपभोक्ताहरू मारमा परेका छन् ।

अहिले पूर्वी नेपालमा रिफाइन तेलको अभावसमेत सुरु भएको डिलरहरूले बताएका छन् ।

बजारमा तेलको मूल्यमा मनपरी भइरहेको उपभोक्ताको गुनासो छ । रिफाइन र खानेतेलको मूल्य अत्यधिक बढेको सर्वसाधारणले गुनासो गरेका छन् ।

इटहरी–१९ की रविना लिम्बूले अहिले बजारमा खानेतेलको मूल्य छोइनसक्नु भएको बताइन् । ‘केही महिनाअघिको तुलनामा अहिले तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ’–उनी भन्छिन् ।

सूर्यमुखी र खुकुरीलगायतका तेलमा समेत अत्यधिक मूल्यवृद्धि भएको बताउँछिन् इटहरीकी सविना कार्की । उनी भन्छिन्, ‘एक महिनाअघि ८० रुपैयाँमा पाइने तेल अहिले १ सय १० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

खै, तेलको मूल्य कसरी यति धेरै बढ्यो पत्तै भएन ।’ खानेतेलको मूल्यमा मनपरी भइरहेको गृहिणीहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको अभाव तथा मूल्यवृद्धि भएको भन्दै उद्योगहरूले तेलको मूल्य बढाएको तेलको कारोबार गर्दै आएका डिलरहरूले बताएका छन् ।

इटहरीस्थित हीरा होटलका सञ्चालक प्रकाश महतोले बजारमा रिफाइन तेलको मूल्य अत्यधिक वृद्धि भएको गुनासो गरे । अहिले तेलको मूल्य अत्यधिक बढेको कारण आफूहरूजस्ता व्यवसायी मारमा परेको उनी बताउँछन् ।

तेलको मूल्य एक्कासि कसरी बढिरहेको छ भन्दै उनले बजार अनुगमन गरिनु पर्ने जनाए । तेलको मूल्य अत्यधिक बढ्दा व्यवसायीहरू मारमा परेको उनी बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको अभाव र मूल्य वृद्धि भएसँगै बजारमा तेलको मूल्य वृद्धि भएको जनाइएको छ । लामो समयदेखि तेलको कारोबार गर्दै आएका कृति इण्टरप्राइजेज इटहरीका मुन्द्राजीले तेलको मूल्य अत्यधिक वृद्धि भएको जनाए ।

अहिले बजारमा तेलसमेत अभाव भएको उनको भनाइ थियो । लकडाउनपछि मात्र पनि कार्टुनमा २ सय ८० रुपैयाँ बढेको उनी बताउँछन् ।

‘नेपालमा उत्पादन भइरहेको तेल भारत गइरहेको कारण यहाँ तेलको हाहाकार जस्तै छ’ –उनले भने । बजारमा अहिले मागअनुसार तेलसमेत दिन नसकेको उनको भनाइ थियो ।

‘तेल उत्पादक कम्पनीले पनि हामीले मागेको जति तेल दिन सकेको छैन’ –मुन्द्राजीले भने । खुद्रा व्यापार गर्ने व्यवसायीहरूले भने हरेक वर्ष चिसो मौसममा तेलको मूल्य बढाउने प्रवृत्ति उस्तै रहेको बताएका छन् ।

इटहरीस्थित बस्नेत स्टोरका सञ्चालक रामनारायण बस्नेतका अनुसार विगतको तुलनामा हरेक तेलको मूल्य प्रतिलिटर १५ देखि २० रुपैयाँसम्म बढेको बताए ।

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्