Logo
११ बैशाख २०८१, मंगलबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यंग्य : जय चम्चागिरी, जय झोलेगिरी, जय जय झुठगिरी !

रश्मिश्री सिंह

आदरणीय आमाबुवा, काकाकाकी, दाइदिदी र प्याराप्यारा भाइबहिनी सबैमा मेरो नमस्कार !

२००७ सालदेखि २०७७ सालसम्म यत्रो राजनीतिक उथलपुथल भए पनि कसैको घर छैन भने कसैको शरीरमा लगाउने लुगा छैन । कसैको भने कसैको पेटमा अन्नको दानासमेत पुग्न सकेको छैन ।

विद्यालय ‘नमुना’ छ तर पढाइ छैन । अस्पताल छ, तर डाक्टर छैनन् । गाडी छ, तर सडक छैन । सर्टिफिकेट छ, तर रोजगारी छैन ।

अझ महङ्गि र करले आकाश छोएको छ । देशमा जनता भन्दा बढी नेताको अगाडिपछाडी लाग्ने चम्चाहरू बढी छन् । अनि देश कसरी अगाडि बढ्छ ?

अब केही चिन्ता लिनु पर्दैन । हाम्रो ‘नोट’ छापमा भोट दिएर देशको हितमा सोच्ने ‘नेपाली एकीकृत खावोवादी’ पार्टीलाई धेरै भन्दा धेरै मतले जिताऔँ ।

त्यसपछि त नोट छापजस्तै घरघरमा नोट छाप्ने मेसिन आउँछ । दिनचर्या पनि पेट्रोल पम्पबाट सुरुवात भएर भट्टीमा समाप्त हुन्छ । दिनदिनै घरको भान्सामा मासुको सुगन्ध लिन पाइन्छ ।

एकचोटि यो पार्टीलाई मौका दिएर त हेर्नूस् चर्पी पनि सोच्नेबित्तिकै चाहकै ठाउँमा उपलब्ध गराउनेछौँ । एकचोटि पार्टी जितेसी घरघरमा रोजगारको अवसर ल्याउनेछौँ । विद्यालय,स्वास्थ्य चौकीदेखि सडक सबैको दिन फिर्नेछ । समग्रमा नेपाल अब नेपाल नभएर सिंगापुरमा परिणत हुनेछ….आदि ।

हुन त गफाडी ग्याङको गफ यत्तिमै के सकिन्थ्यो र ? तर यस्तै गफमा दुबै हातको छाला झर्नेगरी ताली ठोक्ने हामी नै हौँ । ओहो, अगाडिपछाडि कुर्सी ठोक्न पाए त अझै मज्जा नि ।

र त्यो ताली ठोक्ने भिडमा एकदुईजना पक्कै पनि ‘दिनकै उज्यालोमा पनि क्या झुट बोल्दिरा’ सोच्ने व्यक्ति होलान् ।

कागजमा नेपाल एउटा कृषिप्रधान देश हो । करिब ६६.५ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आबद्ध छन् । यहाँ टनका टन धान, गहुँ, मकै, तरकारी र अन्य बाली उत्पादन हुनुपर्ने हो ।

तर दिनका दिन झुठो बोल्ने गफाडी मानिस उत्पादन भइरहेछ, अनि घरेपिच्छे मानवरुपी चम्चा पाइन्छ ।

झुट बोल्नु भनेको नानीदेखि लागेको बानी हो । ‘ओहो, क्या दामी मेकअप धेरै राम्री देखिएकी छेस्’ भनेर प्रशंसा गर्दा ओठमा मन्द मुस्कान र ‘धन्यवाद’ भन्ने शब्द बाहिर निस्किन्छ ।

तर ‘ओइ, मुखमा के सारो पाउडर दलेको’ भनेर सहि कुरो बोल्दा चाहिँ रातोपिरो मुख बनाउँदै कर्के नजरले हेर्ने हाम्रो बानी छ । जब कि सत्य यहि हो कि उसको राम्रो मेकअप भन्दा सेतो पाउडर छर्लङ्गै छ ।

अब यो झुट बोल्ने बानी कहाँ सजिलै जान्छ र ? अनि यहि फर्मुला अप्लाइ हुन्छ हामी माथी पनि । झुटो बोल्दै सोझासाझा जनताको मन जित्दै सगरमाथाको आरोहण गराइन्छ । अन्त्यमा त्यो सगरमाथाको पनि नियमानुसार भागबन्डा गराइन्छ ।

बरु झुठो बोल्दा पनि एउटा सीमामा रहेर बोल्नु नि । ‘नेपाल भुपरिवेष्ठित राष्ट्र हो’ भन्ने वाक्य सानैदेखि पढेर र लेखेर हुर्किएकी म मात्रै होइन होला ।

अनि अब आएर नेपालमा पानीजहाज आउँछ भन्दा हाम्रो लागि भाग्यकै कुरो हो । धन्न,नारायणी र बाग्मतीजस्तो नदिमा बोटीङ गरेर भए पनि पानीजहाजको इच्छा पूरा गरियो । ‘पानीजहाज नआए के भयो त ? रेलगाडी त आको छ नि’ कुनै झोलेले फ्याट्टै भन्देला ।

रेलगाडी पनि त हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं भयो । धन्न, ‘रेलको झ्याल समाएर सँगै भागौँला’ भन्ने गीत रिलिज भएको छ र पो गीत सुनेर रेलको सम्झना आउँछ । नत्र त बेहुलीझैँ सिँगारिएर नेपाल आएको रेल अब बुढी भएर मात्र घर फर्केला जस्तो छ परिस्थिति ।

नेपालमा भव्य तरिकाले मनाइने जात्रामध्ये ‘गाईजात्रा’ एक हो । वर्षमा एक पटक मनाइने गाईजात्राको दिन कलाकारहरुलाई आफ्नो कलाकारिता देखाउन र व्यङ्ग्य प्रहार गर्न पुर्ण रुपमा छुट दिइएको हुन्छ । तर कठै हाम्रो देशमा सधैँ गाईजात्रा मनाइन्छ ।

ठुल्ठुला पदमा आसिन सम्मानीय व्यक्तित्वहरुको कलाकारिता क्षेत्रमा बढी नै रुचि छ । उहाँहरुको त्यस्तो प्रगति देखेर त मानौँ महानायक राजेश हमाल पनि फेल हुन्छन् । अनि कमेडियन मनोज गजुरेलको त उहाँहरुको अगाडि के औकात ?

यी सबका भरपुर मनोरञ्जन लिनेमा चाहिँ हामी तपाईं नेपाली जनता पर्छौँ । कहिलेकाँही त लाग्छ मानौँ यो देश देश नभएर ‘मुन्द्रेको कमेडी क्लब’ हो ।

हामी जनता जनता नभएर उक्त कार्यक्रमको दर्शक हौँ र सरकार सरकार नभएर त्यो कार्यक्रममा बोलाइएको अतिथि हो । जहाँ मज्जाले गफिएर हाँस्ने काम मात्र छ मनोरञ्जनको लागि ।

ठाउँ–ठाउँमा मसाल जुलुस गरेर, टायर जलाएर र त्यतिले नि पुगेन भने निर्दोषहरुका बाइक र स्कुटी जलाएर देशको उन्नति प्रगति हुन्छ भन्ने सोचाइ र प्रवृत्ति भएपछी त देश चल्छ नि ।

तर बिना ब्रेकको गाडीझैँ चल्छ । झोला बोकेर कलेज जाने उमेरमा झोले कार्यकर्ता बन्नु छ मलाई र देशमा नयाँ आयाम नि ल्याउनु छ । पुरानो पद्धति अपनाएर नयाँपन ल्याउन सकिएला त ?

‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्दै भित्ताहरु पेन्ट गराउनु छ मलाई । देशको नि चिन्ता लिनु छ मलाई । तर राजनीतिमा खुट्टा हाल्नुछैन । अरे अनि किन देशको चिन्ता ?

बरु आ-आफ्नो क्षेत्रमा प्रगति गरे देशको विकास आफै हुनेथियो नि । तर हरेक क्षेत्रमा कमिसन र घुस चाहिएको छ अनि ‘म देशको सच्चा र इमानदार राष्ट्रसेवक हुँ’ भन्ने ट्यागलाइन पनि जोडिएको छ ।

आजका युवा भनेको भोलिका वरिष्ठ नेता हुन् । जसले अहिलेका नेताले चम्चामा जे हालेर खुवायो त्यही खाएका हुन्छन् । अन्ततः अब आउने समय पनि अहिलेझैँ त हुने हो ।

समग्रमा,
जय चम्चागिरी !
जय झोलेगिरी !
जय जय झुठगिरी !

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्