Logo
३० चैत्र २०७७, सोमबार
(January 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व शिक्षासचिव मधुप्रसाद रेग्मी सिफारिस

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार आयोगको अध्यक्षका लागि पूर्व शिक्षा सचिव मधुप्रसाद रेग्मी तथा सदस्य पदका लागि डिल्लीराम रिमाल र शिक्षकबाट सेवा निवृत्त नन्दकुमारी महर्जनको नाम सिफारिसका परेका छन् ।

सरकारले लोक सेवा आयोगका अधयक्ष उमेश प्रसाद मैनालीको नेतृत्वमा आयोगका पदाधिकारी छनोट समिति गठन गरी उक्त समितिलाई अध्यक्ष तथा सदस्य खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी सिफारिस गर्न जिम्मा दिएको थियो ।

उक्त समितिले आयोगको पदाधिकारीका लागि दरखास्त दिनेहरुमध्येबाट ४ जना अध्यक्षमा र ६ जना सदस्यको सर्ट लिस्ट तयार पारेको थियो ।

ती दश जनामध्ये उनीहरुको कार्ययोजना, अन्तर्वार्तालगायतको परीक्षाबाट तीनजना उत्तीर्ण भएका छन् । अब उनीहरुको नियुक्तिका लागि शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्नेछ ।

एक अध्यक्ष र दुई जना सदस्य (एक महिला अनिवार्य) गरी ३ सदस्यीय शिक्षक सेवा आयोग गठन हुने प्रावधान शिक्षा ऐनमा छ ।

पदाधिकारीहरुको नियुक्ति ५ वर्षको लागि हुन्छ । शिक्षा ऐनमा शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा पुनः नियुक्ति हुने व्यवस्था छ ।

अध्यक्ष पदका लागि खगराज पौडेल (बागलुङ), लक्ष्मीराम पौडेल (काठमाडौं) र विनोद केसी (ललितपुर) पनि आकांक्षी थिए । यसैगरी सदस्य पदमा गिता शिवाकोटी खरेल (काठमाडौं), झमक प्रसाद शर्मा (भक्तपुर), पवित्रा सुवेदी (सुर्खेत) र भक्तबहादुर ढकाल (सुर्खेत)ले पनि आवेदन दिएका थिए ।

आयोगका अध्यक्ष ताना गौतमको कार्यकाल गत असोज १४ गतेदेखि सकिएपछि हाल शिक्षक सेवा आयोग पदाधिकारीविहीन छ । त्यसअघि नै आयोगका एक जना सदस्य ज्ञानी यादवको पद गत असारमा र अर्का सदस्य सिताराम पोख्रेलको पद २०७५ मंसिरदेखि रिक्त भएको थियो ।

सरकारले आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्त हुनका लागि कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुनुभन्दा कम्तिमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको र चालीस वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको योग्यता तोकेको छ ।

अध्यक्ष पदका लागि नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त गरेको र सदस्यका लागि कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।

प्रकाशित मिति: Jan 7, 2021

प्रतिक्रिया दिनुहोस्