Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली बिल प्रयोग गर्ने धरानका हार्डवेयर व्यवसायी अग्रवाल बाबुछोरा पक्राउ

प्रदेश १ स्थित नक्कली बिल प्रयोग गरि करोडौं रुपैयाँको कारोबार गरेको आरोपमा धरानका हार्डवेयर व्यवसायी ग्लोबल इम्पेक्सका सञ्चालक किसन अग्रवाल र एसएन इन्टरनेशनल प्रालिका सञ्चालक अग्रिम खेतान अग्रवाल पक्राउ परेका छन् ।

करोडौं रुपैयाँको कारोबार गरेबापत राजश्वसम्बन्धी कागजपत्र देखाउन नसकेपछि सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयले धरान–१२ महेन्द्रपथका हार्डवेयर व्यवसायी बाबुछोरालाई नियन्त्रणमा लिएर काठमाडौं पठाएका हुन् ।

उनीहरूका पसल र गोदाम पनि सिल गरिएको छ । राजश्व छली गरेको सूचना पाएपछि छापा मारेको र आवश्यक कागजपत्र माग्दा नदिएपछि करिब ७ घण्टा लगाएर खोजी गर्दा पनि नपाएकाले पसल र गोदाम सिल गरिएको हो ।

नक्कली बिल बिजक बनाएर कारोबार गरेकाले उनीहरूलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको बताइएको छ । किसन अग्रवाल बाबु हुन् भने अग्रिम छोरा हुन् ।

राजश्व अनुसन्धान कार्यालयका प्रमुख दीपक खड्काले भने, ‘हामीलाई काठमाडौंस्थित हरिहर भवनमा रहेको राजश्व अनुसन्धान विभागबाटै अग्रवाल बाबुछोराले राजश्व छली गरेको जानकारी प्राप्त भएकाले नियन्त्रणमा लिएर उतै पठाएका हौं ।’

खड्काका अनुसार अग्रवाल बाबुछोराको कम्पनी ग्लोबल इम्पेक्स र एसएन इन्टनेसनलले खरिद बिक्री गर्दा नक्कली बिल प्रयोग गर्दै आएका थिए ।

उनले कारोबारको कागजपत्र नै फेला नपरेकाले के कति सामग्रीको कति राजश्व छली भएको हो भन्न अहिल्यै नसकिएको पनि बताए ।

दुवै पसलको नाममा बाबुछोराले कारोबार गर्दा हुनुपर्ने आवश्यक कागजात, बिल बिजक केही पनि फेला नपरेकोले सिल गरेर थप अनुसन्धान र कारबाहीका लागि काठमाडौं पठाइएको र बाँकी कारबाही हरिहर भवनबाट हुने खड्काले बताए ।

अग्रवाल बाबु छोराको दुई कम्पनीले नेपाल खानेपानी संस्थान धरान शाखा अन्तर्गत खानेपानी पाइप र मिटर बिक्री वितरणमा एकाधिकार जमाएको थियो ।

संस्थानकै कर्मचारीसँगको मिलोमतोमा धरानका उपभोक्तामध्ये करिब २० हजार जनाको निजी धारा जडान गर्दा चाहिने पानीको मिटर र पाइप बिक्री वितरणमा राम निवासमा मात्र पाइने गरेको थियो ।

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्