Logo
१२ बैशाख २०८१, बुधबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रमिकलाई काममा फर्काउन नमानेको भन्दै आरती स्ट्रिप्सको बैंक खाता रोक्न पत्रचार

हटाइएका डेढ सय श्रमिकलाई काममा फर्काउन नमानेको भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगरले प्रदेश १ स्थित आरती स्ट्रिप्स प्रालिको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स उद्योगमा कार्यरत मजदुरहरूलाई ट्रेड यूनियनमा आवद्ध हुन दस्तखत गरेको बिषयलाई मुद्दा बनाएर १ सय ५० जना मजदुरलाई गेटमा रोकेर कामबाटै हटाएको भन्दै मजदुरहरूले पुस १२ मा श्रम कार्यालय गुहारेका थिए ।

वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार र बैंकिङ कार्यालय थापाथलीलाई पत्र लेख्दै आरती स्ट्रिप्स प्रालिको नेपालभरिका सबै बैंकमा रहेको खाता रोक्न आग्रह गरेका हुन् ।

निकालिएका मदजुरहरूलाई १४ गते बेलुका ४ बजेभित्र अनिवार्य पुनःवहाली गर्न कार्यालयले आरती स्ट्रिप्सलाई १२ गते नै पत्र काटेको थियो । तर उक्त पत्र नबुझी उद्योग प्रशासनले श्रम अदालत जाने चेतावनी दिएको थियो ।

उद्योगमा क्रियाशील रहेको नेपाल कारखाना श्रमिक संघ इकाईले संघ नवीकरणका लागि श्रमिकहरूको विवरण भरेर श्रम कार्यालयमा बुझाएको थियो ।

कार्यालयले संघको नवीकरणका लागि उद्योगसँग उक्त विवरणको ठिक छ कि छैन भन्ने कुरा जानकारी गराउनू भन्दै पत्र पठाएको थियो । मजदुरहरूले भने आन्दोलनलाई निरन्तरता दिंदै दैनिक रुपमा उद्योगअगाडि भेला भएर विरोध प्रदर्शन गर्दै आएका छन् ।

मजदुरलाई निकालेको थाहा पाएपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको नेपाल कारखाना श्रमिक संघ आरती स्ट्रिप्स इकाई अध्यक्ष सुरेशकुमार साहले बताए ।

आरतीले श्रम ऐनअनुसार मजदुरहरूलाई सुविधा दिनुपर्ने भएपछि त्यसअघि नै मजदुरहरूलाई हटाइसकेको विवरण तयार पारेको र मजदुरलाई निकाल्ने प्रयास गरेको नेपाल कारखाना श्रमिक संघ सम्वद्ध मजदुर नेताहरूले बताएका छन् ।

कार्यालयले मजदुरको वास्तविक विवरण पठाउन दिएको निर्देशन नमानेपछि आरतीको नाममा देशभरि सबै बैंकमा रहेका खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार गरेको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

तीन दिनको म्याद राखेर निष्कासित मजदुरलाई पुनःवहाली गर्न निर्देशन दिएपनि अटेर गरेपछि श्रम ऐन २०७४ को दफा १६७ बमोजिम कारवाही प्रक्रिया अघि बढाएको सञ्जेलले बताए ।

 

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्