Logo
८ बैशाख २०८१, शनिबार
(December 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौलिक चाडपर्वले समुदायमा आपसी सद्‌भाव सुमधुर बनाउन सहयोग गर्छ : राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली, तमु ल्होसार, धान्यपूर्णिमा र यःमरी पुन्हीको शुभकामना सन्देशमा मौलिक सांस्कृतिक चाडपर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्‌भाव सुमधुर बनाउन सहयोग गरेको बताएका छन् ।

मुख्यमन्त्री राईले किराँत समुदायको महान् चाड उधौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर), कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातिको तमु ल्होसार, धान्यपूर्णिमा र यःमरी पुन्ही २०७७ को अवसरमा आज यहाँ शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देश जारी गर्दै यहाँ मनाउने उधौली, चाक्चाकुर, तमु ल्होसार, धान्यपूर्णिमा, यःमरी पुन्हीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।

उनले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्यसमेत रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री राईले सुरक्षित र सजगता अपनाएर चाडपर्व मनाउनसमेत आग्रह गर्दै विगत वर्षहरुमा हर्षोल्लासका साथ मनाउँदै आएका हाम्रा चाडपर्व यस वर्ष कोरोना भाइरसका कारण असहज र अप्ठ्यारो परिस्थितिमा मनाउनुपरेको उल्लेख गरेका छन् ।

“कोरोना भाइरसको बढ्दो सङ्क्रमणबाट बच्न जो जहाँ छौँ, त्यही बसेर सुरक्षित तवरले चाडपर्व मनाउन मेरो विशेष अनुरोध छ”, उनले भनेका छन् ।

प्रकाशित मिति: Dec 30, 2020

प्रतिक्रिया दिनुहोस्