Logo
४ बैशाख २०८१, मंगलबार
(December 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३ मन्त्रीले दिए राजीनामा

प्रदेश १ मा नेकपाको प्रचण्ड-माधव पक्षका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ ।अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् ।

समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् ।प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड-माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताए ।

यस्तै नेकपाको प्रचण्ड-माधव पक्षका तीन मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री राई नेतृत्वको सरकार प्रदेशसभामा अल्पमतमा परेको छ ।

मुख्यमन्त्री राईले आफूमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेको भन्दै शनिवार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदबाट बर्खास्त गरेका थिए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन् ।

राज्यमन्त्री गजमेरलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए । तर गजमेरले अस्वीकार गरेकी थिइन् ।

प्रदेश सभामा रहेका ९३ सदस्यमध्ये नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ जना रहेका छन् । नेकपाका ६७ सदस्यमध्ये पूर्व एमालेका ५१ र पूर्व माओवादीका १६ जना छन् ।

प्रकाशित मिति: Dec 27, 2020

प्रतिक्रिया दिनुहोस्