संसद विघटनविरुद्ध बानेश्वरमा दाहाल-नेपाल पक्षका सांसदहरुको हस्ताक्षर संकलन
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र नेपाल पक्षका सांसदहरुको भेला संसद भवनको लोत्से हलमा सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा सुरु भएको भेलामा संसद विघनको विरुद्धमा हस्ताक्षर संकलन गरेका छन् ।
सरकारले संसद विघटन गरेको भोलिपल्ट संसद बैठकस्थलमा भेला भएका उनीहरुले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेका हुन् ।
हस्ताक्षर कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु वर्षमान पुन, गिरिराजमणि पोखरेललगायत नेताहरु पनि पुगेका छन् ।
तर, उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भए । उनी कुनै पनि गुटको भेलामा नजाने बताउँदै आएका छन् ।
अर्का सचिवालय सदस्य रामबहादुर थापा बादल पनि अनुपस्थित भए । उनी आज विहान बालुवाटारमा ओली पक्षीय भेलामा पनि अनुपस्थित भए । बादल पनि कुनैपनि भेलामा नजाने पक्षमा रहेका छन् ।
भेलामा टोपबहादुर रायमाझी र हरिबोल गजुरेल पनि अनुपस्थित भएका छन् । दुवै नेता स्थायी कमिटी सदस्य र बिघटित प्रतिनिधिसभाका सांसद हुन् ।
पछिल्लो समय ओलीसँग दुवै नेता नजिकिएको चर्चा छ । रायमाझी र गजुरेललाई मन्त्री पदको प्रस्ताव आइरहेको बुझिएको छ ।
पूर्व माओवादी नेतामध्ये लेखराज भट्टले गुट परिवर्तन गरिसकेका छन् । उनी आज ओली पक्षीय भेलामा सहभागी भई ओली नजिकैको लहरमा बसाइएका थिए ।