Logo
४ बैशाख २०८१, मंगलबार
(December 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् ।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको नागरिक केयर सेन्टरको सहकार्यमा आठ करोडको लागतमा विराटनगर-१० मा एचडियु र अक्सिजनसहितको थप १०० श्ययाको कोभिड अस्पतालको आज उद्घाटन गर्दै उनले कोरोनाको उपचारको काममा निजी अस्पतालले नागरिकको घरवाससमेत उठाएकाले गुणस्तरीय निःशुल्क उपचारका लागि अस्पतालको निर्माण गरिएको बताए ।

मुख्यमन्त्री राईले कोराना सङ्क्रमित जनताले अक्सिजनको अभाव र सहज उपचार उपलब्ध नहुँदा अकालमै ज्यान गुमाउनु परेकामा दुःख व्यक्त गदै नौलो सोच र छोटो समयमा कोभिड अस्पतालको भौतिक संरचना निर्माणबाट उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उहाँले संविधान निर्माण एवं सङ्घीयतामा निजी क्षेत्र राष्ट्रको एउटा खम्बा भएकाले राष्ट्र निर्माणमा सहकार्य गर्न सकिन्छ भन्ने उदाहरण नवनिर्माण भएको कोभिड अस्पतालको सफल प्रयोग भएको बताए ।

उनले कोरोना महामारीबाट नागरिकको उपचारका सम्बन्धमा समाजमा रहेको विभेद् अन्त्य गरेको उल्लख गर्दै अस्पताल निर्माणमा राजनीतिक स्वार्थबिना सबै पार्टी, नागरिक समाज आपसमा मिलेर अस्पतालमा तयार गरेको विचार व्यक्त गरे ।

सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निजी क्षेत्रको सहकार्यमा निर्माण गरिएको अस्पताल अत्यन्तै सराहनी कार्य भएको चर्चा गर्दै यसको व्यवस्थापन चुस्त र दुरुस्त राख्न आग्रह गरे ।

उनले कोरोनाको जोखिम हटेपछि विशिष्टकृत अस्पतालका रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसका लागि आवश्यक पर्ने सहयोग सङ्घीय सरकारबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले अस्पताल निर्माण निजी क्षेत्रको सहयोगमा अनुकरणीय कार्य भएको चर्चा गर्दै कोरोना सङ्क्रमित अक्सिजनबिना छट्पटाउने भएकाले अब सहज उपचार सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोभिड अस्पतालको क्षेत्रमा थप १०० श्ययाको भेन्टिलेर अस्पतालमा चाँडै निर्माण कार्य शुरु गर्नका लागि स्विस सरकारबाट रु चार करोड सहयोग उपलब्ध भएको जानकारी दिँदै फोहर व्यवस्था, वाटर ट्रिटमेन्ट र अक्सिजन प्लान्ट आदि यस क्षेत्रमा निर्माण गर्ने बताए ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले सङ्क्रमित नागरिकको उपचारको समस्याका कारण निजी क्षेत्र एवं प्रदेश र स्थानीय सरकारको सोचअनुसार अस्पताल निर्माण भएको बताउँदै भविष्यमा यस अस्पताललाई विशिष्टकृतको मुटु रोग उपचार केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

नागरिक केयर सेन्टरका अध्यक्ष पवन सारडा, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले अस्पतालको निर्माणबाट प्रदेशका साथै छिमेकी प्रदेशका नागरिकले सहज उपचारको सुविधा प्राप्त गर्ने बताए ।

सेन्टरका कोषाध्यक्ष एवं मोरङ व्यापार सङ्घका पूर्व सभापति महेश जाजुले आर्थिक प्रतिवेशन पेश गरेका थिए । अस्पताल निर्माणका लागि प्रदेश सरकारले रु एक करोड, महानगरपालिकाले २५ लाख र विभिन्न निजी क्षेत्रका उद्योगी, व्यापारी, बैंकलगायतले रु छ करोड ७५ लाख सहयोग उपलब्ध गराएर रु आठ करोडमा अस्पताल निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति: Dec 20, 2020

प्रतिक्रिया दिनुहोस्