Logo
१३ बैशाख २०८१, बिहीबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा स्याटेलाइट राख्ने पुरानो प्रक्रिया खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालकै स्याटेलाइट राख्ने प्रक्रिया खारेज गरेको छ । चार वर्ष अर्थात् २०७३ सालदेखि शुरु भएको प्रक्रिया खारेज भएको प्राधिकरणले जनाएको छ ।

शुरुआती चरणमा स्याटेलाइन राख्ने आह्वान गरिएको अन्तर्राष्ट्रिय आशयपत्रमा सबै जिम्मा एकै कम्पनीलाई दिने तयारी भएको थियो तर पछिल्लो समय सरकारले स्याटेलाइटसम्बन्धी नीति नै बनाएपछि उक्त प्रक्रिया खारेज गर्नुपरेको जनाइएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल नयाँ ल्याइएको भूउपग्रह सम्बन्धी नीतिअनुरुप नयाँ योजना तय गर्न पुरानो खरिद प्रक्रिया रद्द गरिएको बताउछन् ।

पुरानो आशयपत्रमा सबै प्रक्रियालाई एकै ठाउँमा राखिएको थियो तर नयाँ नीतिमा स्याटेलाइट स्थापनाका लागि आवश्यक कानून, सञ्चालन मोडालिटीलगायतका काम छट्टछुट्टै गर्नुपर्ने उल्लेख गरिएको छ ।

उनका अनुसार उक्त काम गर्न अन्तर्राष्ट्रिय परामर्शदाता आह्वानको तयारी भएको छ । सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै गत असारमा भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो ।

अन्तर्राष्ट्रिय टेलिकम युनियनले नेपालका लागि उपलब्ध गराएको १२३.३ पूर्वी देशान्तरको स्लटमा स्याटेलाइट राख्न अनुमति दिएको थियो ।

युनियनले छुट्टाइएको स्लटमा स्याटेलाइट स्थापनाका लागि सञ्चार मन्त्रालयले गठन गरेको अध्ययन समितिले उक्त स्थानमा स्याटेलाइट स्थापना गर्न उपयुक्त नहुने तर्क राखेको थियो ।

समितिले स्याटेलाइट स्थापना गर्दा व्यावसायिक रूपमा नाफामूलक नहुने भन्दै अर्को स्लट माग गर्नुपर्ने आशयको प्रतिवेदन तयार पारेको थियो ।

उक्त समितिले नेपाललाई ८० डिग्री पूर्वी देशान्तरदेखि ८९ डिग्री पूर्वी देशान्तरको स्लट उपयुक्त हुने निष्कर्ष निकालेको थियो । नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।

प्रकाशित मिति: Dec 8, 2020

प्रतिक्रिया दिनुहोस्