Logo
१२ बैशाख २०८१, बुधबार
(December 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नकारात्मक सर्किट लागेर सेयर बजार बन्द

केही समयदेखि अस्वभाविक रुपमा सुधारिएको सेयर बजारमा आइतबार नकारात्मक सर्किट लागेर बन्द भएको छ। नेपाल राष्ट्र बैंकले दोस्रो बजारमा अस्वभाविक रुपले सुधार भएको भन्दै सेयर धितो कर्जामा कडाइ गर्ने नीति लिएसँगै दोस्रो बजारमा झट्का लागेको हो।

नेपाल राष्ट्र बैंकले पहिलो त्रैमाशिक अवधिको मौद्रिक समिक्षा गर्ने क्रममा बैंकिङ तरलता अधिक हुँदा बैंकहरुले सेयर बजारजस्ता क्षेत्रमा पार्किङ गरेको भन्दै कडाइ गर्ने घोषणा गरेको थियो। राष्ट्र बैंकको यस्तो कदमको विरोध गर्दै आइतबार लगानीकर्ताका संघ संघठनका पदाधिकारी नेपाल राष्ट्र बैंक पुगेका थिए।

बजार सधैँ बढ्नुपर्ने मानसिकताका यस्ता संघ संस्थाहरुले नकारात्मक हल्ला फैलाउदा दोस्रो बजार प्रभावित हुने गरेको छ। विगत चार वर्षदेखि ओरालो क्रममा रहेको सेयर बजारमा विगत ४/५ महिनादेखि लगातार सुधार भइरहेको छ। कोभिड- १९ ले सम्पुर्ण क्षेत्रलाई असर पार्दै गर्दा दोस्रो बजारमा भने अस्वभाविक सुधार आइरहेको थियो। बजार बुलिस ट्रेण्डमा भन्दा पनि बैंकिङ कर्जा सस्तो हुँदा बजारमा बबल क्रियट भएको विश्लेषकहरु बताउछन्। बबल क्रियट हुँदा फुट्ने भएकाले यस्तो क्रम सुरु भएको उनीहरुको तर्क छ। यस्तो समयमा लगानीकर्ताहरु डुब्ने गर्छन्।

आइतबार नेप्से सूचक १२३ दशमलब २३ अंकले ओरालो झरेको छ। नेप्से सूचक ६ प्रतिशतले तल झरेपछि बजार नै कारोबार समयभन्दा ४७ मिनेट अगावै बन्द भएको छ। सूचिक कम्पनीमध्ये १९७ वटाको सेयर कारोबार हुँदा १६९ कम्पनीको सेयर मूल्यमा भारि गिरावट आएको छ। जम्मा ४ वटाको मात्रै सेयर मूल्यमा सुधार भएको छ भने अधिकांश कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

विगतमा भएको सुधारलाई नाफा बुक गर्न खोज्दा बजारमा नकारात्मक सर्किट लागेको हो। केहि समय सेयर किनेका लगानीकर्ताले दुई चारदिनको नकारात्मक सर्किट लाग्दा पनि नाफा बुक गर्न सक्छन्। त्यसैले गर्दा उनीहरू सक्दो छिटो बिक्री गरेर बाहिरिन चाहन्छन्। अर्कोतर्फ बजार अब धेरै नै तल झर्छ भन्ने मनोविज्ञान हाबी भएका लगानीकर्ताले अझै ठूलो घाटा व्यहोर्नु भन्दै थोरै घटेको बेलामा घाटा खाएरै बिक्री गर्न खोजेका छन्।

नाफा बुक तथा घटेको भन्दै सेयर किन्ने लगानीकर्ताका कारण आइतबार दोस्रो बजारमा ७ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ।

प्रकाशित मिति: Dec 6, 2020

प्रतिक्रिया दिनुहोस्