Logo
११ बैशाख २०८१, मंगलबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई-मधेशको ग्रामीण क्षेत्रमा सामाचकेवा पर्वको रौनक !

तिहार र छर्ठ पर्वपछि मिथिलाञ्चलसहित तराई-मधेशमा सामाचकेवा पर्वको रौनकता छाएको छ । भाइ-बहिनीबीचको अगाध प्रेमलाई दर्शाउने पर्वको रूपमा मनाइने सामाचकेवा पर्व सहरी क्षेत्रमा लोप हुन थाले पनि ग्रामीण क्षेत्रमा अझै रौनकता बाँकी छ ।

विगतमा हर्षोल्लास पूर्वक मनाइने यो पर्व वर्तमान समयमा सहरी क्षेत्रमा विधि पुर्‍याउन मात्र मनाउने गरिन्छ । ‘गामके अधिकारी हमर बरकाभइया हो, सामचको सामचको अइहाहो अइहाहो ’जस्ता प्रसिद्घ गीतले सामा खेल्नेदेखि सामाचकेवा खेल हेर्नेहरू पनि रोमाञ्चित हुने गर्छन् ।

अहिले तराईका अधिकांश गाउँमा र केही सहरमा साँझ पर्नेबित्तिकै बालिका, किशोरी, युवती र महिलाहरू समूह-समूहमा बसेर यस्ता गीत गाउँदै सामा खेल्न व्यस्त हुने गरेको भेटिन्छ ।

छठको खरनाको दिन कात्तिक शुक्लपञ्चमीदेखि सुरु हुने सामाचकेवा र पूर्णिमाको दिन बिसर्जन हुँदै छ । १० दिनसम्म चल्ने र पूर्णिमाको ११औँ दिन माटोको विभिन्न प्रतीकलाई भाइको हातबाट फुटाई खनिएको खेत वा वनमा राखी बिसर्जन गरिने सामा भाइको दीर्घायु र स्वस्थको कामना गर्दै मनाइन्छ ।

सामा, चकेवा, चुगलाको माटोको विभिन्न प्रतिमा बनाई एवं बजारबाट किनेर बाँसको डालामा राखी साँझको समयमा गाउँका बालिका, युवती र महिलाले विभिन्न गीत गाउने र भाइको दीर्घायुको कामना गर्ने चलन छ ।

सामाचकेवाको विशेष पात्रका रूपमा रहेको चुगलाको मुखमा १० दिनसम्म निरन्तर कालो पोत्ने गरिन्छ । वर्तमान समयमा हाम्रो समाजमा चुगला अर्थात् कुरा लगाउने धेरै रहेको र यस्तोलाई उजागर गरी समाजलाई स्वच्छ बनाउनुको साथै भाइबहिनीबीच निरन्तर मायाप्रेम रहिरहोस् भन्ने अभिप्रायले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीलगायत भारतको बिहारमा समेत मैथिली, भोजपुरी र थारु समुदायले भव्य रूपमा सामाचकेवा मनाउने गर्छन् ।

सामाचकेवा पर्वको इतिहास

सामाचकेवाको पौराणिक किंवदन्ती विभिन्न ऐतिहासिक ग्रन्थमा भिन्नभिन्न उल्लेख छ । सामाचकेवा पर्वको सुरुवात द्वापरयुगमा श्रीकृष्णको पालामा भएको मान्यता छ ।

भगवान् श्रीकृष्णका छोरी साम्बा र छोरा साम्बको कथामा आधारित रहेको सामाचकेवा पर्व अझै निरन्तर चल्दै छ । कृष्णकी छोरी साम्बालाई चुडक भन्ने व्यक्तिले मन पराएको, तर साम्बाको विवाह चारुवाक भन्ने व्यक्तिसँग भएकोमा त्यसको प्रतिशोध लिन चुडकले कृष्णसामु उसको छोरीको चरित्र ठीक नभएको भनी कुरा लगाएको र कृष्णले पनि सत्यतथ्य पत्ता नलगाई रिसको झोँकमा छोरीलाई पक्षी बन्ने श्राप दिएका थिए ।

पछि ज्वाइँ चारुवाकले कृष्णलाई भेटी आफ्नी पत्नी निर्दोेष र स्वच्छ छविकी भएकी बताएको र आफू उनीविना बाँच्न नसक्ने भनी गुहार लगाएको र आफूलाई पनि पक्षी नै बनाइदिन आग्रह गर्दा कृष्णले उनलाई पनि पक्षी नै बनाइदिएका थिए । कुरा लगाउने चुडक (चुगला) लाई देश निकाला गरेका थिए ।

आफ्नी बहिनी साम्बा र ज्वाइँ चारुवाकको श्रापलाई निष्क्रिय गर्न साम्बले कार्तिक शुक्ल पञ्चमीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म ११ दिन गोपेश्वर महादेवको मन्दिरमा प्रत्येक साँझ नृत्य र पूजा गरी भगवान् भोलेनाथलाई खुसी पारेको र भगवान् खुसी भई साम्बा दम्पतीलाई पुनःमानव जीवन वरदान दिएको मान्यताका साथ यो पर्व मनाइँदै आइएको छ ।

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्