Logo
१५ चैत्र २०८०, बिहीबार
(November 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभरिका बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ खुवाइँदै

देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ ।

६ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।

गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडाददशैँका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले बताए ।

यसअघि कोरोना भाइरसका कारणले वैशाखमा भिटामिन ‘ए’ कार्यक्रम लागू हुनुपर्नेमा गत असार २२ र २३ गते गरिएको थियो ।

भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाइन्छ । करीब ५२ हजार स्वयंसेविका कार्यक्रममा संलग्न छन् ।

मुलुकका ७५३ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ खुवाउन थालिएको हो । सरकारले विसं २०५० देख कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो ।

एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाबाट बचाउन औषधि खुवाइन्छ । उनका अनुसार यस पटक जुकाको औषधि २४ लाख ८ हजार ३३० बालबालिकालाई खुवाउन थालिएको हो ।

सन् २००० देखि जुका र आर्थिक वर्ष २०६६र६७ देखि बालभिटा खुवाउन थालिएको हो ।यस्तै आज र भोलि नै बालभिटा लागू भएका ४६ जिल्लामा पनि क्याप्सुल खुवाउन थालिएको छ ।

रक्तअल्पता हुनबाट जोगाउनका लागि बालभिटा खुवाउने गरिन्छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बालभिटा खुवाइन्छ ।

हरेक वर्ष सरकारले निःशुल्करूपमा भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत जुकाको औषधि र बालभिटा खुवाउँदै आएको छ ।

प्रकाशित मिति: Nov 26, 2020

प्रतिक्रिया दिनुहोस्