Logo
७ बैशाख २०८१, शुक्रबार
(November 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाडर्पवले सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने तथा समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल संवत् ११४१ तथा नेवार समुदायको महान पर्व म्हः पूजाको अवसरमा आज एक शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेको छ ।

शुभकामना सन्देशमा उनले चन्द्रमानक पात्रोमा आधारित नेपाल संवत्का प्रवर्तक समाज सुधारक शङ्खधर साख्वालाई मानिन्छ भन्दै साख्वाले आफ्नो निजी सम्पतिबाट सर्वसाधारणको ऋण तिरिदिएको र उनीहरुलार्ई ऋण मुक्त गरेको दिनको स्मरणमा नेपाल संवत्को शुरुआत गरिएको उल्लेख गरेका छन् ।

सरकारले नेपाल संवत्का प्रवर्तक साख्वालाई राष्ट्रिय विभूति र नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको बताउँदै उनले यस अवसरमा समाज सुधारक एवं नेपाल संवत्का प्रवर्तक साख्वाप्रति उच्च सम्मान प्रकट गरेको सन्देशमा उल्लेख छ ।

नेपाल संवत् (नयाँ वर्ष) को पहिलो दिन नेवार समुदायको महान पर्व म्हः पूजा पर्छ । सन्देशमा मुख्यमन्त्री गुरुङले आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार नेवार समुदायले म्हः (आत्म) पूजा गर्ने गरेको परम्परा रहिआएको उल्लेख गरे ।

लामो समयदेखि हामी कोभिड-१९ को कहरसँग जुधिरहेका छौँ भन्दै उनले विश्वव्यापी महामारीका कारण यसपालिका हाम्रा उत्सव तथा चाडपर्वहरु परिवारका सदस्यबाहेक अन्यसँग भेटघाट कम गर्न र सरकारले घोषणा गरेका जनस्वास्थ्यका मापदण्डको पालन गर्न उनले सबैमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति: Nov 16, 2020

प्रतिक्रिया दिनुहोस्