Logo
१४ मंसिर २०७७, आईतबार
(November 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान

शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले १५ दिनभित्र उक्त पदमा इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याई दरखास्त दिन सक्ने बताएको छ।

सरकारले आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्त हुनका लागि कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुनुभन्दा कम्तिमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको र चालीस वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको योग्यता तोकेको छ ।

अध्यक्ष पदका लागि नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त गरेको र सदस्यका लागि कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको हुनुपर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

अध्यक्ष वा सदस्य नियुक्त पछि आयोगको नेतृत्वदायी भूमिकासहितको अवधारणा पत्र तथा पाँच वर्षको व्यवसायीक कार्ययोजनासहित शिक्षा मन्त्रालयमा रहेको सिफारिस समितिको सचिवालयमा बुझाउनु पर्ने छ ।

सरकारले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा सर्च कमिटी गठन गरेको छ ।

नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार रिक्त शिक्षक तथा कर्मचारी पदको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षक तथा कर्मचारीको बढुवाको लागि सिफारिस गर्ने जिम्मेवारी शिक्षक सेवा आयोगलाई तोकिएको छ ।

शिक्षा ऐनमा एक अध्यक्ष र दुई जना सदस्य (एक महिला) गरी ३ सदस्यीय शिक्षक सेवा आयोग गठन हुने प्रावधान छ । पदाधिकारीहरुको नियुक्ति ५ वर्षको लागि हुन्छ ।

 

प्रकाशित मिति: Nov 7, 2020

प्रतिक्रिया दिनुहोस्