Logo
६ चैत्र २०८०, मंगलबार
(October 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुखी असाहयकाे काेराेना उपचार सरकारले गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार खर्च बेहोर्न नसकेमा र अस्पतालले पनि उपचार खर्च नबेहोरेमा कोरोना संक्रमितको उपचार सरकारले गर्ने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कुनै पनि विपत्तिमा जनताको जीउधनको रक्षा गर्नु सरकारको निशर्त: दायित्व रहेको बताए ।
सरकारले कोरोना भाइरसको परीक्षण र उपचारको यथोचित प्रबन्ध गर्ने पनि उनले बताए । खोपको व्यवस्था गर्न पनि सरकार लाग्ने उनको भनाइ थियो ।
कोरोना संक्रमणलाई लिएर सरकारको आलोचना भएकोप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले ती अफवाह समयसँगै हराएर जाने बताए । उनले पछिल्लो समय सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णयलाई लिएर भएको आलोचनाको प्रतिरोध गर्दै संक्रमितका परिवार र अस्पतालले उपचार गर्न नसक्ने भएमा सरकारले गर्ने बताए । यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कात्तिक २ गतेको नियमित पत्रकार सम्मेलनमा कोरोनाका विरामीको उपचार अबदेखि सरकारले नगर्ने बताएका थिए ।

उनले दसैँ मान्दा निकै होशियार भएर र सामाजिक दूरी कायम गरेर मान्न पनि अपिल गरेका छन् ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठः

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा सर्वप्रथम म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

बडा दशैं लगायतका हाम्रा चाडपर्वहरु यत्तिकै प्रचलनमा आएका होइनन् । विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा हाम्रा चाडवाडहरुको विकास भएको छ । समाज निर्माण हुने क्रममा, सभ्यताहरु विकसित र सुगठित हुने क्रममा यस्ता चाडपर्वहरु निर्माण भएका छन् । सामाजिक सुप्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरु, समयक्रममा हासिल भएका अनुभव र अनुभूतिहरुबाट समृद्ध हुँदै प्रयोग र प्रचलनमा रहेका हुन् । नाता, साइनो र सम्बन्ध, तिनको महत्व र मर्यादा एवं तिनको परिपालना र सुप्रबन्धका लागि हाम्रा पूर्वज र अग्रजहरुले बहुतै बुद्धिमत्ताका साथ यस्ता विभिन्न चाडपर्व र उत्सवहरुको विकास गरेका हुन् ।

यी चाडवाडहरु केवल पर्व र उत्सवहरु मात्रै होइनन्, सामाजिक प्रबन्धका आधारहरु हुन् । हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य मान्यताहरु यिनै सामाजिक प्रबन्धहरुका आधारमा विकसित भएका छन् । खासमा चाडपर्वहरु समाजलाई एकीकृत र आकर्षित गर्ने चुम्बकहरु हुन् । साथै, समाजलाई सहज सञ्चालन गर्ने लुब्रिकेन्टस हुन् । त्यसैले, यी चाडपर्वहरुका सकारात्मक अन्तर्यहरु, जो महान् र जिवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ । त्यसैले यस्ता चाडपर्वहरुलाई नितान्त पुरातन मान्यताका रुपमा मात्रै बुझ्दा र अस्वीकार गर्दा सिङ्गो समाजलाई निरर्थक, निरस र प्रयोजनहीन जस्तो बनाउँछ ।

तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ । भनिन्छ नि, बोटबिरुवाको रक्षा गर्नु भनेको ऐंजेरु पाल्नु होइन ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,

बडा दशैंलाई विभिन्न बर्ष, फरक–फरक परिस्थितिका बीच हामीले मनाउँदै आएका छौं । महाविनाशकारी भूँइचालो गएको साल पनि दशैं आयो, बेघरबार भएका हामीमध्ये कतिले त्रिपाल मुनी बसेर भएपनि यस परम्परालाई धान्यौं ।

पारिवारिक मिलनको चाडका रुपमा बर्षमा एकचोटी हर्षोल्लासका साथ मनाइने यस पर्वमा परदेशमा रहेका आफन्त घर आउन नपाएकोमा दुःखी हुँदै हामीले पटक–पटक यस्ता महान् पर्वहरु मनायौं ।

यस वर्ष हामी, कोभिड–१९ महामारीको भूमरी बीच बडादशैं–२०७७ लाई स्वागत गरिरहेका छौं । यो विश्वव्यापी महामारीले नेपाललाई पनि नराम्ररी प्रभावित गरेको छ । यस घडीमा हामी, परिवारमा सँगै भएकाहरु पनि परपर बस्न बाध्य छौं । पहिले–पहिले छुट्टी नमिल्दा र यस चाडपर्वमा घर जान नपाउँदा निराश हुने हामीहरु अहिले छुट्टी मिल्दासमेत चाहेर पनि घर फर्कने र परिवारमा घूलमिल हुने अवस्थामा छैनौं । सतहमा सबै स्वस्थ देखिन्छौं, फेरि पनि कुनबेला ओछ्यानमा पर्नुपर्ने हो र अलग–अलग थन्किनु पर्ने हो, टुङ्गो छैन । अनिश्चय र आशंकाको बीचमा हामी छौं ।

अहिलेको यस विषम परिस्थितिमा हामीले यस महान् चाडलाई विगतमा भन्दा फरक ढंगले मनाउनु परेको छ । आफ्ना मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिदाँ हुनसक्ने संभावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने हुन्छ ।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा आग्रह गर्न चाहन्छु ।

दशैंको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ । अहिले राजधानी काठमाडौं उपत्यका यस संक्रमणको केन्द्रजस्तै बन्न पुगेको छ । यस महामारीको संक्रमणको वेग थामिन केही समय लाग्न सक्छ । त्यसैले यसलाई रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्ना सम्पूर्ण प्रयासहरु केन्द्रित गरेको छ ।

कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व हो । अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य हो । यस दायित्वलाई पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनै पनि बहानामा पछि हट्दैन । म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ । पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहन्छ ।

सामान्यतया यस्ता राष्ट्रिय विपत्तिको बेला अफवाहका तुवाँलो बाक्लै लाग्ने गर्दछन् । गत बर्ष चैत ११ गते पहिलोचोटी लकडाउन गरेदेखि हालसम्मै जनतालाई भयभित र असहाय महसुस गराउने प्रकृतिका थुप्रै अफवाहहरु चलेका छन् । सक्रिय संक्रमितको एउटा मात्रै केस हुँदा होस् वा अहिले एकैदिनमा ५ हजारभन्दा बढी सक्रिय केस पहिचान भएको क्षणमा होस्, अफवाहको प्रकृति करिबकरिब उस्तै रहेको देखिन्छ । तर आम देशबासीको सहयोगका कारण समयक्रममा त्यस्ता तुवाँलोका तहहरु क्रमशः फाटेका छन् । जनताको यही सकारात्मक सहयोगका कारण यस महामारीमा मृत्युदर अझै ०.६ प्रतिशतभन्दा माथि जान सकेको छैन । निको हुने दर क्रमशः बढ्दै छ ।

मैले भन्दै आएको छु, महामारी बिरुद्धको यस लडाईंमा हामी प्रत्येक सिपाही हौं । हामी हरेकको यस लडाईंमा आफ्नो सुरक्षा, परिवारको सुरक्षा, अनि समुदाय र आमजनताको सुरक्षाको लागि योगदान हुनु आवश्यक छ । यसो भनिरहँदा, सरकारले सक्ने आफैं बाँच, नसक्ने जेसुकै गर भन्यो भन्ने जस्ता हल्ला फेरि पनि सुनिएको छ । महामारी र महाविपत्तिमा राज्यले सबै नागरिकको यथोचित साथको अपेक्षा गर्दछ । हुनेले नहुनेलाई सहयोग गर्ने मानवीय पक्ष मात्र नभई हामी नेपालीहरुको परम्परा नै रहेको छ । सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरिरहेको छ । सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ । मृतकहरुको शव व्यवस्थापनको सन्दर्भमा पनि केही फरक नगरी पूर्ववत् व्यवस्था नै जारी छ । सँगसँगै स्थानीय परम्परा र पारिवारिक संस्कारलाई समेत मध्यनजर गरी पारिवारिक संलग्नतामा शव व्व्यवस्थापन गर्न सकिने प्रबन्धसमेत मिलाइएको छ । निजी अस्पतालमा अहिले पनि कतिपय दिदीबहिनी दाजुभाइहरु स्वेच्छाले आफैं, आफ्नै खर्चमा उपचार गराइरहनु भएको छ । राज्यको लागि बोझ होइन, थप सहयोग गर्ने उहाँहरुको यो कार्य आफैंमा प्रसंशनीय छ ।

कठीन घडीमा नै परिवार, नातागोता, छरछिमेकी र जनप्रतिनिधिहरुको सहयोगको महत्व हुन्छ । पीडाका घाउमा पारस्परिक सहयोग र एकताको भावनाबाट मल्हम लगाउन सकिन्छ । आफैं संक्रमित हुँदा होस् वा परिवारका कोही, त्यसको मनोवैज्ञानिक असर गहिरो हुन्छ । संक्रमित विरामीहरु संक्रमणले सिर्जना गरेको भयबाट अपहेलित हुने र उपचार नपाउनेजस्तो स्थिति हुनुहुँदैन । अत्यन्त सावधानी र आत्मीयताका साथ गरिने सहयोगी व्यवहारले विरामीहरुको मनोबल उच्च पार्न र छिटो निको बनाउन मद्दत पुर्‍याउँछ ।

यस महामारी विरुद्धको हाम्रो लडाईं राजनीति वा अन्य स्वार्थहरुको टकरावसँग सम्बन्धित छैन र हुनुहुँदैन । कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाईंको विषयलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग गर्नु त किमार्थ पनि उचित हुँदैन । फेरि पनि म दोहर्‍याएर स्पष्ट पार्न चाहन्छु, यस कठीन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको सन्दर्भमा आफ्ना कर्तव्यहरुबाट विमुख हुनसक्दैन र भएको छैन । त्यसैले, जनताको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाको लागि सरकारले घोषणा गरेका नियमहरुको कडाइका साथ पालना गर्न म सबैमा आग्रह गर्न चाहन्छु ।

यस्तो बेलामा हामीले सबै प्रकारका चिकित्सा प्रणालीहरु, तद्अन्तर्गतका विधि र औषधिहरु, तत्सम्बन्धी विज्ञ र चिकित्सकहरुको परामर्शमा मात्रै नियमको पालना र औषधिहरु सेवन गर्नु उचित हुन्छ । मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, सरसफाईमा बढी ध्यान दिने, ताजा खानेकुरा खाने, तातोपानी पिउने र सम्बन्धित विधाका चिकित्सकको परामर्शमा औषधीय गुणले युक्त रहेका घरेलु औषधीय तत्वहरुको प्रयोग गर्नेजस्ता कुरामा सक्दो ध्यान दिनु जरुरी छ ।

कोभिड–१९ बाट जनतालाई बचाउन मानवीय र सेवाभावका साथ आ–आफ्नो मोर्चामा हरेक खतरा र कठिनाई व्यहोर्दै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, समाजसेवी, जनप्रतिनिधि, परोपकारी संघसंस्था र व्यक्तिहरु निरन्तर क्रियाशील हुनुहुन्छ । अहोरात्र खट्ने व्यक्ति तथा संस्थाहरुप्रति उच्च सम्मानका साथ उहाँहरुको योगदानको प्रशंसा गर्दछु ।

यसपालीको बडा दशैं मनाइरहँदा म कोभिड–१९ संक्रमणका कारणले भएको मानवीय क्षतिप्रति दु:ख र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । संक्रमणबाट विरामी अवस्थामा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

यस महामारीको संक्रमणबाट आफू जोगिनु र आफन्तलाई पनि जोगाउनु अहिलेको प्राथमिक काम हो ।

त्यसैले, यसपालीको बडादशैं, हामी जो जहाँ जहाँ छौं, त्यहीँ त्यहीँ रहेर मनाउन म सबैसँग विनम्र अनुरोध गर्न चाहन्छु ।

संक्रमणको संभावित खतरालाई ध्यानमा राखी मैले पनि यसपाली प्रधानमन्त्री निवासमा हुने ‘बडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन गरिसकेको छु ।

दिदीबहिनी तथा दाजुभाइहरु,

यस्तै अप्ठ्यारोमा पनि हामी नेपालीले साहस र सहजताका साथ दुःखको सामना गर्ने गरेका छौं । यस महामारीले पनि अहिले हाम्रो परीक्षा लिइरहेको छ ।

अनुशासन, उच्च मनोवल, सतर्कता र पारस्परिक सहयोगबाट यसलाई परास्त गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।

बडादशैं २०७७ को सबैमा हार्दिक शुभकामना !

धन्यवाद ।

प्रकाशित मिति: Oct 23, 2020

प्रतिक्रिया दिनुहोस्