Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशको पहिलो ‘नागढुंगा–नौबिसे सुरुङ मार्ग’ निर्माणको कार्य तीव्र

देशको पहिलो सडक सुरुङ नागढुंगा–नौबिसे सुरुङ मार्गको निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ। निषेधाज्ञामा रोकिएको काम असोज लागेसँगै सुरु भएको थियो। सो सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले पाएको हो।

गत कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए। प्रधानमन्त्रीले शिलान्यास गरे पनि मुआब्जा विवाद, स्थानीयको अवरोधलगायतका कारण काम अगाडि बढ्न लामो समय लागेको थियो। फागुनबाट निर्माण थालिएको सुरुङको काम कोरोना संक्रमण जोखिमका कारण चैत ११ देखि गरिएको लकडाउनपछि रोकिएको थियो।

लकडाउन खुलेसँगै सुरु भएको काम असोज ३ देखि जारी निषेधाज्ञाले पुनः रोकिएको थियो। अहिले सुरुङ मार्ग निर्माणले गति लिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए। ‘हाल सुरुङ मार्ग निर्माणले तिब्रता लिएको छ,’ उनले भने, ‘धादिङतर्फ काम तीव्र रुपमा भइरहेको छ। अबको केही समयमा नागढुंगाबाट पनि काम सुरु हुन्छ।’

सुरुङ मार्ग निर्माणका लागि जापानबाट गत साता सुरुङ विज्ञ, इन्जिनियर, प्राविधिकसहितको टोलीले नेपाल आएको थियो। उनीहरुको क्वारेन्टाइन अवधि पुरा भएलगत्तै फिल्डमा जाने छन्। उनीहरु आएसँगै नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको मुख्य सुरुङमार्गको कामले तिब्रता पाउने महानिर्देशक शर्माले बताए।

नागढुंगा–नौबिसे सुरुङ मार्गको शिलान्यास भएको करिब १ वर्ष बितिसकेको छ। हालसम्म सुरुङमार्ग बाहिर बन्ने संरचनाको मात्रै काम भइरहेको थियो। माटो भर्ने, कल्भर्ट बनाउने र आवश्यक संरचना बनाउने लगायतका कामहरु भइरहेका छन्। अब भने मुख्य सुरुङ निर्माणको काम हुनेछ।

प्रकाशित मिति: Oct 12, 2020

प्रतिक्रिया दिनुहोस्