Logo
१३ बैशाख २०८१, बिहीबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना नियन्त्रण बाहिर गएको भन्दै पुनः निषेधाज्ञा लगाउन माग

पुनः निषेधाज्ञा लगाउन भक्तपुर नगरपालिकाले सरकारलाई आग्रह गरेको छ। कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि भक्तपुर नगरपालिकाले निषेधाज्ञा लगाउन सरकारलाई आग्रह गरेको हो।

नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरू बन्द हुने गरी पुनः निषेधाज्ञा जारी गर्न सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ।

दसैंको समयमा भक्तपुर दरबार क्षेत्रलगायत विभिन्न क्षेत्रमा हुने भीडभाडका कारण कोरोना संक्रमणको थप जोखिमलाई मध्यनजर गरी निषेधाज्ञा जारी गर्न सरकारसँग आग्रह गर्ने निर्णय भएको नगरप्रमुख प्रजापतिले बताए।

कोरोना रोकथाम र नियन्त्रणका लागि दसैंमा हुने सबै प्रकारका जात्रा र पूजाआजाहरूलाई औपचारिकतामा सीमित गरी भीडभाड नगर्न नगरवासीमा आह्वानका साथै आवश्यक सुरक्षा व्यवस्था सुरक्षा निकायबाट मिलाउने निर्णयसमेत बैठकले गरेको उनले जानकारी दिएका छन्।

बैठकमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना जोखिम बढेको बताएका थिए। दसैंमा भीडभाड नियन्त्रण गर्न स्थानीय प्रशासन तदारुकताका साथ अघि बढ्ने उनको भनाइ थियो।

बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नेपाली सेना वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक तारादेवी थापा, सशस्त्र प्रहरी बल स.प्र.नि. मुकुन्द चापागाइँ, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका अनुसन्धान अधिकृत पवनराज पाण्डे, भक्तपुर अस्पतालका तर्फबाट राजेन्द्रप्रसाद नेपाल, जनस्वास्थ्य केन्द्रका प्रमुख रत्नसुन्दर लासिवा, भक्तपुर नपाका जनप्रतिनिधि, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष विरेन्द्र जति, भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्