Logo
१५ चैत्र २०८०, बिहीबार
(October 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश सरकारले सहयोग गर्ने : मन्त्री गुरुङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बिहीबार ढोरपाटनको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

अवलोकनपछि स्थानीयवासी, जनप्रतिनिधिलगायत सहभागी रहेको कार्यक्रममा भनाइ राख्दै मन्त्री गुरुङले बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अवलोकनका क्रममा मन्त्रीद्वयले बाढी प्रभावित परिवारका समस्या र क्षतिको अवस्थाबारे जानकारी लिएका थिए ।

“पुनःनिर्माणको काम तत्काल अघि बढ्छ, प्रदेश सरकारले बजेट र दक्ष जनशक्तिको व्यवस्था गर्छ”, मन्त्री गुरुङले भने ।

पुनःनिर्माणको कार्य अघि बढाउन बुर्तिबाङमा भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय स्थापना गरिने मन्त्री गुरुङले बताए ।

बुर्तिबाङ-ढोरपाटन सडकको स्तरोन्नतिका लागि सङ्घ सरकार र सालझण्डी-ढोरपाटन आयोजनासँग मिलेर काम थालिने उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी ढोरपाटनसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने र सोका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने मन्त्री गुरुङले बताए ।

विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापन र राहत कार्यक्रमलाई पनि प्रभावकारी बनाउन प्रदेश सरकारले सघाउने विश्वास दिलाए ।

भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय स्थापना गर्न नगरपालिकाले भवन उपलब्ध गराउने र खर्च प्रदेश सरकारले व्यवस्थापन गर्ने गरी छलफल भएको नगरप्रमुख देवकुमार नेपालीले बताए ।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका-९, ८, ७, ६ र ५ प्रभावित छ । सबैभन्दा ठूलो जनधनको क्षति वडा नं ९ मा भएको छ ।

बाढीले सडक, खानेपानी, विद्युत्, सिँचाइ आयोजना, विद्यालय, स्वास्थ्यचौकी, पुललगायत दर्जनौँ भौतिक संरचनामा क्षतिग्रस्त छन् ।

बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्‍याएको छ । बाढीमा परी २२ को ज्यान गएको छ भने १५ जना अझै बेपत्ता छन् ।

सङ्घ सरकारले पनि बागलुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणको काम अघि बढाउने निर्णय गरिसकेको छ ।

 

प्रकाशित मिति: Oct 2, 2020

प्रतिक्रिया दिनुहोस्