Logo
१३ बैशाख २०८१, बिहीबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलसँग श्रम सम्झौता : अब नेपालीहरु स्याहारसुसार केन्द्रमा जान पाउने

नेपाल र इजरायल बीच श्रम सम्झौता र सातवटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेका अनुसार एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्समार्फत नेपालमा इजरायलबाट कृषि क्षेत्रमा सुधार गर्ने र यसले गर्दा नेपालमा उत्पादन र स्वरोजगार बढ्न समेत बढ्ने बताए ।

इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच बुधबार इजरायलमा श्रम सम्झौता र कृषि क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।

नेपालको तर्फबाट हस्ताक्षर गर्नको लागि मन्त्रिपरिषद्ले यसअघि नै निर्णय गरेर राजदूत शाक्यलाई अख्तियारी दिइसकेको थियो ।

इजरायलस्थित नेपाली राजदूतावासका द्वितिय सचिव तथा प्रवक्ता अर्जुन घिमिरेका अनुसार दुई मुलुकबीच छलफल गरेर काम अघि बढाइने भन्ने सम्झौता भएको छ ।

उनले अहिले नेपालको तीन जिल्लाहरु झापा, लम्जुङ र गुल्मीमा यस सम्बन्धमा सर्वेक्षण पनि भइरहेको जानकारी दिए ।

सहसचिव घिमिरेका अनुसार नेपालले बुधबार इजरायलसँग भएको श्रम स्वीकृत उल्लेख गर्दै अब अन्य स-साना श्रम सम्बन्धी कामको लागि पनि बाटो खुला भएको छ ।

उदाहरणको लागि अब नेपालीलाई इजरायलमा नर्सिङ क्षेत्रमा काम गर्न जाने बाटो खुलेको छ । यो सहमतिसँगै स्याहारसुसार केन्द्र (केयर सेन्टर) मा नेपाली श्रमिक जाने बाटो खुलेको हो ।

यसअघि घरमै बस्ने गरी केयर गिभरका रूपमा नेपालीलाई लगिएको थियो । अब अस्पतालको काममा लैजान लागिएको हो । ‘अन्य क्षेत्रमा पनि नेपालीहरु इजरायलमा गएर काम गर्ने बाटो खुलेको छ,’ उनले भने ।

केयर गिभरका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा यसअघि म्यानपावर कम्पनीले नै नेपाली श्रमिक पठाउँदै आएका थिए ।

श्रमिकसँग ९ लाख रुपैयाँसम्म लिएको भेटिएपछि सन् २००९ बाट म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउन रोक लगाइएको थियो ।

दूतावासका प्रवक्ता घिमिरेले इजरायलको सम्पूर्ण बजारमा काम गर्न जानको लागि नेपालीहरुलाई बाटो खुलेको बताए । उनले अब सेक्टर अनुसार काम गर्न जाने विषयमा दुई मुलुकबीच अक्टोबरमा कार्यान्वयन प्रोटोकलमा नेपालमा सम्झौता हुनेछ ।

सरकारी प्रक्रियामार्फत सन् २०१५ को अगस्टदेखि पाइलट प्रोजेक्टका रूपमा केयर गिभर लैजान थालिएको थियो । संसदीय समितिले श्रम सम्झौता नभएसम्म घरेलु श्रमिक नपठाउने निर्णय गरेपछि २०७३ चैत २२ देखि केयर गिभरसमेत पठाउन बन्द गरिएको थियो ।

त्यसपछि पाइलट प्रोजेक्ट सफल हुन सकेन । हाल इजरायलमा तीन हजार नेपाली केयर गिभरका रूपमा कार्यरत छन् ।

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्