कोरोनाविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै
विश्वस्तरिय कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा झिकाउने सम्झौता भएको हो ।
नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक-५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ ।
दोस्रो चरणको परीक्षण पूरा हुनासाथ गत साउन अन्तिम साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्ध रुसले पहिलो भ्याक्सिन बनाएको घोषणा गरेका थिए ।
भ्याक्सिन नेपाल ल्याउन सरकारले अनुमति दिनुपर्ने भए पनि हालसम्म कुनै पनि खोप ल्याउन आयातकर्ताले औषधि व्यवस्था विभागमा निवेदन नदिएको पाइएको छ ।
विभागका सूचना अधिकारी सन्तोष केसीले अहिलेसम्म खोप ल्याउन कसैको पनि निवेदन नपरेको बताए । उनले भने, ‘यस बारेमा जानकारी आएको त छ ।
तर, कसैले पनि खोप आयात गर्न अनुमति लिनुभएको छैन ।’ हाल कोरोना भाइरसविरुद्ध १ सय ४० वटा खोप परीक्षणको चरणमा रहेका छन् । स्रोतका अनुसार रुसी भ्याक्सिनलाई डब्ल्यूएचओले स्वीकृत नगरेको र अनुसन्धानकै क्रममा रहेको छ ।
हाल रुसलगायत देशमा ४० हजार नागरिकमा भ्याक्सिनको तेस्रो चरण अर्थात् थर्ड ट्रायल भइरहेको छ । सो सफल भए आगामी माघसम्म नेपालमा भ्याक्सिन ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका प्रमुख कार्यकारी अधिकृत किशोर अधिकारीले बताए ।
उनले भने, ‘४० हजार नागरिकमा खोप परीक्षण सफल भए औषधि व्यवस्था विभागमा लाइसेन्सका लागि निवेदन दर्ता गर्छौं । यदि सबै प्रक्रिया पूरा हुँदै गए आगामी माघसम्म नेपालमा भ्याक्सिन आइपुग्छ ।’
‘स्पुतनिक–भी’ को तेस्रो चरणको परीक्षण आगामी जनवरीभित्र पूरा हुने अपेक्षा गरिएको उनले बताए । नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि औषधि व्यवस्था विभागमा निवेदन दिनुपर्छ ।
फन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँग भएको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध हुने जानकारी दिए ।
२ करोड ५० लाख भ्याक्सिनले नेपालको ९० प्रतिशत जनासंख्यालाई समेट्ने बताइएको छ ।