Logo
७ बैशाख २०८१, शुक्रबार
(September 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरी स्थित रामगोपालपुर-५ का वडाध्यक्ष भारतीय नागरिक रहेको खुलासा

प्रदेश २ स्थित महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका ५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको खुलासा भएको छ । पैसा र राजनीति शक्तिको आडमा चौधरीले नेपाली नागरिकता लिएको हो ।

वडाध्यक्ष चौधरीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको ७ महिना बितिसक्दा पनि छानबिन भने अगाडि बढेको छैन ।

स्थानीय हरिषचन्द्र ठाकुरले उनीविरुद्ध ०७६ फाल्गुन ६ मै प्रशासनमा उजुरी हालेका थिए ।

तर हालसम्म उजुरीमाथि सुनवाई नभएपछि प्रशासनमाथि नै स्थानीयले शंका गर्न थालेका छन् ।

भारतीय मतदाता नामावलीमा जितेन्द्रको फोटोसहितको विवरण ।

उजुरी परेलगतै ०७६ फाल्गुण ८ मा उनको नाममा जिल्ला प्रशासन कार्यालयले पत्र काटेको थियो ।

तर त्यसपछि उनीमाथिको कारबाही प्रक्रिया रोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले आफू आएपछि नक्कली

नागरिकताका विषयमा परेको उजुरीबारे अनुसन्धान अगाडि बढाएको बताए ।

उजुरी परेको ७ महिनामा पनि किन अनुसन्धान अगाडी बढेन भन्ने जिज्ञासामा उनले भने, ‘म आएलगत्तै उजुरी विषयमा अनुसन्धान थालेको छु। आज फलो गर्छु । नक्कली ठहर भएमा निजमाथि कारबाही हुन्छ ।’

उजुरीमा के छ ?

रामगोपालपुर नगरपालिका ५ का वडाध्यक्षमा निर्वाचित चौधरी नेपालमा जन्मेका होइन् । उनी भारत विहारको सीतामढी जिल्लास्थित सिरसिया बजारका स्थायी बासिन्दा हुन् ।

तर नक्कली कागजात पेश गरेर उनले नेपाली नागरिकता प्राप्त गरेका छन् ।

नेपालको निर्वाचन आयोगले तयार गरेको मतदाता नामावली, जहाँ जितेन्द्रको बाबुको नाम अनिल कुमार लेखिएको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षमा चौधरी निर्वाचित भएका थिए ।

उनी भारतीय नागरिक रहेको सबै प्रमाण रामगोपालपुरका ठाकुरले दिएको उजुरीमा सामेल रहेको बताइएको छ ।

ठाकुरले चौधरी भारतीय निर्वाचन आयोगको मतदाता नामावलीमा रहेको फोटोसहितको प्रमाण पेश गरेका छन् ।

भारतीय मतदाता नामावलीमा वडा अध्यक्षको नाम जितेन्द्र चौधरी र उनको बुबाको नाम हीरा चौधरी उल्लेख छ ।

नेपाली नागरिकतामा वडा अध्यक्षको बुबाको नाम हीराबाट परिवर्तन गरेर अनिल चौधरी बनाएको छ ।

उनको बुबा र वडा अध्यक्षले सन् २०१९ मा भारतीय लोकसभा निर्वाचनमा मतदान गरेको समेत उजुरीकर्ता ठाकुरको दावी छ ।

नेपाली नागरिक नै हुँ : वडाध्यक्ष
वडाध्यक्ष चौधरीले भने आफू नेपाली नागरिक भएको दावी गरेका छन् । उनले भने, ‘मेरो विषयमा अनेक टिकाटिप्पणी भइरहेको छ । तर म नेपाली नागरिक हुँ ।’

उनले आफूसँग भारतको नागरिकता नरहेको दावी गरे । ‘म यदी भारतीय नागरिक हुँ भने बैंकमा खाता होला । भारतको आधार कार्ड होला । उजुरी परेकै छ । अनुसन्धानबाट स्पष्ट भइरहाल्छ नि, आरोप लगाएर हुन्छ ?’

प्रकाशित मिति: Sep 28, 2020

प्रतिक्रिया दिनुहोस्