Logo
८ बैशाख २०८१, शनिबार
(September 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा एक सातामा २१ नेपालीको कोरोनाबाट मृत्यु, कुल मृतक संख्या २६५ पुग्यो

कोरोना संक्रमणबाट विदेशमा यो साता थप २१ नेपालीको ज्यान गएको सो साता पुष्टि भएको छ ।

कुवेतमा पाँचजना, साउदी अरबमा १४ जना, युएईमा एकजना, युगान्डामा एकजना गरी शनिबार साँझसम्म २१ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

अहिलेसम्म १७ देशमा रहेका २६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ नेपाली कोरोना भाइरसबाट संक्रमति भएका हुन् ।

तीमध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।

समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७३२ जनाको मृत्यु भएको छ । यस्तै विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ८८ हजार ९१ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ ।

हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३२ देशमा अलपत्र परेका ७८ हजार ३ सय ४३ जनाको नेपालीको उद्धार गरिएको छ ।

चीनबाट कोरोना भाइरसको संक्रमण भए लगत्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समिति विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र राहत वितरणमा सक्रिय रहेको संघले जनाएको छ ।

संघअन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्‍न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघ(संस्थालगायतबाट प्राप्त सूचनाका आधारमा विगत २४ सातादेखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।

 

प्रकाशित मिति: Sep 27, 2020

प्रतिक्रिया दिनुहोस्