Logo
१३ बैशाख २०८१, बिहीबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीकी किशोरीलाई ‘बलि दिन’ भारत लैजाँदै गर्दा सीमाबाट उद्धार, ३ जना पक्राउ

google

प्रदेश नं १ स्थित सुनसरीको रामधुनी नगरपालिका ५ की १७ वर्षीया किशोरीलाई भारत लैजान क्रममा नेपालभारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।

किशोरीलाई विराटनगर महानगरपालिका १७ इश्लामपुरको बाटो हुँदै भारत लैजान लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर ५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी १ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका ३ घर भएका सुनसरीको रामधुनी ५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेका छन्।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार घटनाका मुख्य योजनाकार सुमित भएको खुलेको छ। प्रदीप उनका सहयोगी हुन्।

सीमा कटाएर भारतीय भूमिमा पुर्‍याएपछि किशोरीलाई एउटा गाडीमा हालेर भारतको फारवेशगञ्जतर्फ लगेको खुलेको छ।

सीमा कटाएर जोगवनी हुँदै लगिएपछि किशोरीले आफू गाडीबाट हामफालेर भागेको प्रहरीलाई बताएकी छन्। ‘मलाई भारत पुर्‍याएको थाहा पाएपछि गाडीबाट हामफालेर भागें,’ उनले भनिन्, ‘चिच्याउन र कराउन थालेपछि नडराउन आग्रह गर्दै उनीहरु पनि मलाई पछ्याउँदै आए।’ त्यस क्रममा धेरै फकाउने काम उनीहरुले गरे पनि आफूले नमानेको उनले बताइन्।

बाटोमा लैजाने क्रममा युवाले शंकास्पद तवरबाट अरुसँग फोनमा कुरा गरेको थाहा पाएको किशोरीले बताएकी छन्।

घटनाको प्रकृति र ‘कनेक्सन’ हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका गरिएको छ।

सुमितले मनिकालाई प्रयोग गर्दै प्रदीपको पनि सहयोग लिएर किशोरीलाई भारत पुर्‍याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए।

‘किशोरीको उद्धार गर्दै उनलाई भारत लैजान खोज्नेलाई पक्राउ गरिएको छ,’ उनले भने, ‘घटना गम्भीर देखिएका कारण विभिन्न कोणबाट अनुसन्धान थालिएको छ।’

एसपी खड्काले पैसाको प्रलोभन देखाएर विराटनगर ल्याइएकी किशोरीलाई भारत पुर्‍याउन खोजेको पाइएपछि घटनालाई गम्भीर रुपमा लिइएको बताए।

प्रहरी स्रोतका अनुसार दिदीसँग झुम्कामा बसेर तरकारी पसल गर्ने मनिकाले चिनजानका आधारमा किशोरीलाई लिएर विराटनगर आएको खुलेको छ।

झुम्का बसाईकै क्रममा मनिकाको चिनजान किशोरीको परिवारसँग भएको र किशोरीकी आमाले उनलाई भान्जी भनेर बोलाउने गरेको पाइएको छ।

सुमितले सिकाए अनुसार मनिकाले आइतबार बिहान ७ बजेतिर विराटनगरमा एउटा पूजामा लैजाने र दुई घण्टापछि फर्किएर आउनेभन्दै आमासँग अनुमति मागेर किशोरीलाई घरबाट ल्याएको खुलेको छ।

चिनजानकै युवतीले भनेपछि आमाले पनि सहज रुपमा छोरीलाई जान दिएको पाइएको छ। ‘कन्या (कुमारी) केटीलाई पूजामा राखेर टीका लगाइदिँदै पाँच हजार रुपैयाँ दक्षिणा पनि दिन्छन् भनेर आमालाई विश्वस्त पारेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘त्यहाँमाथि मेरो पनि पैसा आउने भएकाले एउटा मोबाइलसमेत किनिदिन्छुभन्दै मनिकाले थप प्रलोभन देखाएको खुलेको छ।’

 

 

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्