Logo
८ बैशाख २०८१, शनिबार
(September 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिद्धान्त र आदर्शको राजनीतिबाट देश र जनताको हित हुन्छ : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा सिद्धान्त र आदर्शले प्रश्रय पाए मात्र देश र जनताको हित हुने बताएका छन् ।

वीर गणेशमान सिंहको २३औँ स्मृति दिवसका अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘त्याग सङ्घर्ष, समर्पण आजको काँग्रेस र १४औँ महाधिवेशन’ विषयक भर्चुअल अन्तरक्रियामा उनले गणेशमान सिंहको सिद्धान्त र आदर्शको राजनीतिले देशमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याएको धारणा व्यक्त गरे ।

नेता सिंहले नेपालमा प्रजातन्त्र स्थापनाका लागि सङ्घर्षशील नेता गणेशमान सिंहको जीवनबाट नेपालका राजनीतिक नेताहरुले पाठ सिक्नुपर्ने उल्लेख गरे ।

जनतालाई अधिकार दिलाउन १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन गणेशमान सिंहले बिताएको उनको भनाइ थियो ।

पूर्वउपप्रधानमन्त्री सिंहले कोभिड-१९ को महामारीमा सरकारले प्रभावकारी काम गर्न नसेकेको आरोप लगाए ।

“कोरोनाका कारण धेरै मजदुरहरुको घरबास उठ्दासमेत सरकारले उनीहरुको उचित राहत र व्यवस्थापन गर्न सकेन”, उनले भने ।

काँग्रेस नेता अर्जुननरसिंह केसीले पार्टीलाई हुकुमी शैली र स्वेच्छाचारीताले चलाएर नचल्ने भन्दै विधिअनुसार पार्टी चलाउनुपर्ने उल्लेख गरे । उनले सरकारले दिएको मतको सम्मान गर्न नसकेको बताए ।

काँग्रेस कमजोर प्रतिपक्ष भएको उनको भनाइ थियो । पार्टीको १४औँ महाधिवेशनमा नेता हैन नीति, व्यक्ति हैन विधि हेनुपर्ने नेता केसीले बताए ।

पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले इमान्दार, निष्ठावान, त्यागी र सङ्घर्षशील नेता स्व सिंह भएको बताए । बिपी कोइरालालाई सफल बनाउन गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।

नेता पौडेलले काँग्रेसले लोकतन्त्रका लागि कसैसँग सम्झौता नगरेको बताउँदै लोकतन्त्रको रक्षाका लागि युवाहरु एकजुट हुनुपर्ने उल्लेख गरे ।

यथास्थितिबाट पार्टी नचल्ने भन्दै पार्टीलाई सक्षम रुपमा हाँक्ने नेतृत्व काँग्रेसलाई आवश्यक रहेको उनको भनाई थियो ।

काँग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले जनताको हक अधिकार स्थापनाका लागि लड्ने लोकतान्त्रिक योद्धा स्व सिंह भएको उल्लेख गरे ।

सबै दललाई मिलाएर २०४६ सालको आन्दोलनको नेतृत्व गर्ने गणेशमान सिंह साहसी नेता भएको उनको भनाइ थियो ।

उनले आन्दोलनको नेतृत्व गर्ने सिंहलाई प्रधानमन्त्रीको नेतृत्व गर्न दिँदा प्रधानमन्त्रीको पद लिन नमान्ने त्यागी नेता सिंह भएको बताए ।

१४औँ महाधिवेशनमा गुट उपगुटको अन्त्यका लागि सहमतिबाट नेतृत्व छान्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: Sep 18, 2020

प्रतिक्रिया दिनुहोस्