Logo
१३ बैशाख २०८१, बिहीबार
(September 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीकी सामूहिक बलात्कार पीडित किशोरीद्वारा आत्महत्या, ठेकेदार शैलीमा मिलापत्र गराउनेहरु पक्राउ

प्रदेश २ स्थित सप्तरीको डाक्नेश्वरी नगरपालिका-७, ब्रह्मपुरमा जघन्य अपराधमा मिलापत्रका लागि दबाब दिने समाजका अगुवाहरु कानुनी फन्दामा परेका छन् ।

आफ्नो र्वच्वस्व कायम गर्न स्थानीय केहि अगुवा भनाउँदाहरुले सामूहिक बलात्कार जस्तो जघन्य अपराधलाई मिलापत्र गराएर महिलाको अस्मितामाथि खेलवाड गर्नेहरु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी तिलक भारतीले ‘मिलापत्र गराउने मध्येका तीन जनालाई पक्राउ परेको बताए । उनका अनुसार किशोरीलाई धम्क्याएर मिलापत्र गराउने पञ्चमध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल पक्राउ परेका छन् ।

स्थानीयवासीका अनुसार समाजका ठेकेदार शैलीमा अगुवा भनिने केही व्यक्ति भेला भएर गाउँको मुद्दा गाउँमै सामसुम पार्नुपर्छ भन्दै छलफल गरेर मिलापत्र गरिएका थिए ।

बलात्कृत स्थानीय किशोरीले आफूले न्याय नपाएको भन्दै आत्महत्या गरेपछि मामिला प्रकाशमा आएको हो । पिडितलाई न्यायको प्रत्याभूति दिनुको साटो ती अगुवाहरुले धाकधम्कीका नाममा मिलापत्रका गराइएको आरोपमा पक्राउ परेको हो ।

स्थानीय प्रहरीका अनुसार भदौ २९ गते बिहान ९ बजेतिर खेतमा घाँस काट्न गएका बेला गाउँका चार युवाले उनलाई घेरेर सामूहिक बलात्कार गरेका थिए ।

डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साह आफू काठमाडौंमा भएका कारण घटनाको बारेमा राम्रोसँग बुझ्न नपाएको बताउँछन् ।

उनका अनुसार अझै पनि जातीय आधारमा समाज ध्रुवीकृत हुने गरेको छ । यो घटनामा पीडितले न्यायको अनुभूति गर्न नसक्नु त्यसकै एक उदाहरण रहेको उनको भनाइ छ ।

‘छोराको उपचार गराउने सिलसिलामा म झण्डै तीन सातादेखि काठमाडौँमै छु,’ उनले भने, ‘जहाँसम्म मैले बुझेको छु, बलात्कारजस्तो मुद्दामा जबर्जस्ती मिलापत्र गराउन खोज्दा पीडितले आत्महत्या गरेको भन्ने कुरा छ ।’

 

 

प्रकाशित मिति: Sep 16, 2020

प्रतिक्रिया दिनुहोस्