Logo
८ बैशाख २०८१, शनिबार
(September 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

जापानमा बुधबार संसदमा भएको मतदानमा ३१४ मतसहित पूर्व मुख्य सचिव योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।

लिब्रल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिका ४६५ सदस्यमध्यबाट ३१४ मत प्राप्त गरेको जापानी समाचार एजेन्सी कोयदो न्युजले जनाएको छ ।

स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल एलडीपी सोमबार नयाँ नेताको रुपमा योशिहिदेलाई सुगालाई निर्वाचित गरेको थियो ।

पार्टी नेतामा उनले ५३४ मध्येबाट ३७७ मत प्राप्त गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सुगाले कोरोना महामारीका कारण तहस नहस भएको अर्थतन्त्र उकास्‍न आफ्नो जोड रहने बताएका छन् ।

आबेका नजिकका मित्रसमेत रहेका ७१ वर्षीय योशिहिदे यसअघि आबे सरकारका मुख्य सचिव थिए । उनले आबेले लिएका नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

सुगाको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिने छ । सुगाले आबेनोमिक्सू आबेले हस्ताक्षर गरेको आर्थिक नीतिलाई जारी राख्‍ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त आर्थिक नीतिमा मौद्रिक सहजता, वित्तीय खर्च र संरचनात्मक सुधारहरूको माध्यमबाट विश्वको तेस्रो ठूलो अर्थतन्त्रलाई उत्प्रेरित गर्न डिजाइन गरिएको छ ।

तर सुगाले आबेजस्तै पहिला कदम भनेको कोरोना भाइरस महामारीविरुद्धको अभियानलाई अघि बढाउनु पर्नेछ ।

उनको आगामी सन् २०२१ मा हुने निर्वाचनअघि नै जापानको लागि कोभिड-१९ परीक्षण र खोपको विकास गरिसक्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

विदेश नीतिमा पनि उनले आबेको लिएको नीति पछ्याउने अपेक्षा गरिएको छ र जापानले अमेरिकासँग लामो समयदेखिको गठबन्धनलाई प्राथमिकता दिदै चीनसँग स्थिर सम्बन्ध कायम राख्‍ने अपेक्षा गरिएको छ ।

उनले न्यूनतम ज्याला बढाउने, कृषि सुधार र पर्यटन प्रवर्द्धन गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति: Sep 16, 2020

प्रतिक्रिया दिनुहोस्