Logo
८ बैशाख २०८१, शनिबार
(September 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटको प्रहरी हिरासतमै मृत्यु भएका विजय महराको शव परिवारले अझै बुझेनन्, यातना दिएर मारेको आरोप

प्रदेश २ स्थित रौतहटमा प्रहरी हिरासतमै मृत्यु भएका गरुडा नगरपालिका–८ का विजय महराको शव अझै बुझेका छैनन् । घटनाको अनुसंधान हुनुपर्ने भन्दै परिवारले बुझ्न नमान्दा दुई सातादेखि उनको शव काठमाडौंमा राखिएको छ ।

अपराध स्विकार्न प्रहरीले यातना दिएकाले छोराको मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका उनीहरूले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

भदौ ४ गते राति उपचारका लागि वीरगन्ज पुर्‍याइएका विजयको १० गते बिहान मृत्यु भयो । त्यसपछि गरुडामा प्रहरीविरुद्ध प्रदर्शन सुरु भयो । परिवारको मागअनुसार त्यसै बेला उनको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल लगियो । अहिले पनि शव त्यहीँ छ ।

परिवारले छोरालाई यातना दिने सुरक्षाकर्मीविरुद्ध मुद्दा दर्ता, उचित क्षतिपूर्ति, निष्पक्ष छानबिन, सहिद घोषणा, निरञ्जनको हत्यामा संलग्न दुई जना फरार रहेकाले उनीहरूलाई पक्राउ गर्नुपर्नेलगायत माग राखेका छन् । विजयलाई कुटपिट गरेको आरोप लागेका प्रहरी निलम्बनमा परिसकेका छन् ।

विजयका बुबा पनिलालले माग पूरा नभएसम्म छोराको शव नबुझ्ने बताए । ‘मेरो छोरालाई प्रहरीले कुटेर मार्‍यो । जबरजस्ती हो भन्न लगाउने यो कस्तो अनुसन्धान हो,’ उनले भने, ‘जबसम्म निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुँदैन तबसम्म शव बुझ्दिनँ ।’

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विजयको शव अहिलेसम्म काठमाडौंमै रहेको बताए । प्रहरीले हत्यामा संलग्न भन्दै पक्राउ गरेका ७ जनालाई कर्तव्यज्यान मुद्दा चलाइसकेको छ ।

भदौ २ गते विजयलाई जिल्ला प्रहरी गौरबाट खटेको प्रहरी निरीक्षक नवीनकुमार सिंहसहितको टोलीले महिला सेलको हिरासत कक्षमा कुटेर हत्या कबुल गर्न लगाएको परिवारको आरोप छ । यही क्रममा उनी गम्भीर बिरामी परे ।

गरुडा नगरपालिका–८ कै जिंगडियाका २० वर्षीय निरञ्जन रामको साउन ३१ गते राति घाँटी रेटी हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा भोलिपल्ट इलाका प्रहरी गरुडाले विजयलगायत सात जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Sep 12, 2020

प्रतिक्रिया दिनुहोस्