Logo
१५ आश्विन २०७७, बिहीबार
(August 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किवीको मूल्य र माग राम्रो भएपछि किसानको खेतीतर्फ आकर्षण बढ्दै

पछिल्लो समयमा डडेल्धुराका कृषकहरु व्यावसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

केही वर्षअघि तरकारी उत्पादन हुने खेतमा आजभोलि भने कृषकहरु किवी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् ।

किवी खेतीका लागि डडेल्धुरामा उपयुक्त वातावरण भएकाले कृषकहरु व्यावसायिकरूपमा किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

डडेल्धुराको अमरगढी-२ का हिक्मत खडायतले नौ रोपनीभन्दा बढी जमिनमा किवी खेती गरिरहेका छन्।

किविभन्दा अघि उनले सुन्तला, जुनार, कागतीजस्ता फलफूलको खेती गरे । डडेल्धुरामा किवी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको उनले बताए ।

करीब पाँच हजार बोट किवी लगाउएका उनले प्रतिबोट रु ५०० का दरले बिक्री गर्ने गरेको बताए । “बजारमा किवीको मूल्य र माग दुवै रहेको छ । किवी रोपेर नै पाँच जनाको परिवार पालिरहेको छु”, उनले भने, “बेर्ना हुर्कन कम्तीमा पनि एक-डेढ वर्ष लाग्छ । रोपेको करिब तीन वर्षदेखि ५०-६० वर्षसम्म किवीले आम्दानी दिने गरेको सुनेको छु ।” किवी खेतीबाटै घर खर्च कटाई वर्षिक  एक-दुई लाख बचत गर्ने गरेको उनले सुनाए ।

किवी खेती गर्दा समयको पनि बचत हुने र आम्दानी पनि मनग्य हुने भएपछि आफू पनि यस पेसातर्फ आकर्षित भएको अमरगढी-१ का गणेशबहादुर ऐरले बताए ।

शुरुमा रु पाँच लाख लगानी गरेर किवी खेती गरेका उनले छोराछोरीको पढाइ खर्चदेखि लिएर घर परिवारको जीविकोपार्जन पनि यसै पेसाबाट चलाइरहेको बताए ।

सात वर्षदेखि उनले किवी खेती गरिरहेका छन् ।किवी खेती गर्नुभन्दा पहिले भारतमा गएर काम गर्ने गरेको उनको भनाइ छ । “किवी खेती गर्ने कुनै सोच थिएन ।

जिल्ला कृषि विकास कार्यालयले दोलखाबाट यो योजना लिएर जिल्लामा तालिम दियो । १०-१२ जना हामी सहभागी थियौँ तर किवी खेती गर्न कसैले मानेन,” उनले भने, “जिल्लामा पहिलो पटक मैले यो खेतीको शुरुआत गरेँ । शुरुमा १०० बोट लगाएँ । अहिले त जिल्लामा ३०-४० किसान पुगिसके किवी खेती गर्ने ।”

गत वर्ष १६ क्विन्टल किवी फले पनि यो वर्ष ३० क्विन्टल फलाउने उनको अनुमान छ । किवी लगाएकै ठाउँमा तरकारी पनि लगाउन सकिने भएकोले मनग्य आम्दानी गरिरहेको उनले बताए ।

शुरुमा एक पटक लगानी गरेपछि ४०-५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएपछि किसान किवी खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए ।

किवी खेतीका लागि मौसमअनुसार पनि डडेल्धरा जिल्ला उपयुक्त मानिने हुदाँ त्यसतर्फ बढी आकर्षित भई यो खेतीको थालनी भएको वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताए ।

प्रकाशित मिति: Aug 21, 2020

प्रतिक्रिया दिनुहोस्