Logo
८ बैशाख २०८१, शनिबार
(August 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२६ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, अधिकांशको नाफा घट्यो

कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भयो ।

अन्य क्षेत्र जस्तै बैंक तथा वित्तीय संस्थाको अवस्थासमेत कोरोनाका कारण जर्जर भएको छ । आर्थिक वर्ष ०७६/७७ मा हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट आएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारीले वाणिज्य बैंकको नाफामा प्रत्यक्ष असर पारेको छ । बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आ.व. ०७६/७७ मा कुल ५१ अर्ब १७ करोडबराबरको नाफा गरेका छन् । अघिल्लो वर्ष वाणिज्य बैंकहरूले ५७ अर्ब ४४ करोड नाफा गरेका थिए ।

अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुको नाफा झन्डै ११ प्रतिशतले घटेको छ । विवरणअनुसार बैंकको नाफा ६ अर्ब २७ करोडले घटेको छ । वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकमध्ये १८ बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको छ भने सात वाणिज्य बैंकको नाफामा सामान्य वृद्धि भएको छ ।

आव ०७६/७७ मा सबैभन्दा कम नाफा गर्ने बैंकमा सिभिल बैंक छ । सो बैंकको नाफा ३५ प्रतिशतले घटेको छ । नेपाल एसबिआई बैंकको नाफा ३३.२२, कुमारी बैंकको ०.३१ प्रतिशतले घटेको छ । त्यस्तै माछापुच्छ्रे २६.२२, सानिमाको २४.५६, सिटिजन्स बैंकको २३.७२, नेपाल इन्भेस्टमेन्ट बैंकको २२.६३, बैंक अफ काठमाडौँको २२.२१ र नेपाल बंगलादेश बैंकको नाफा २०.७५ प्रतिशतले घटेको छ ।

यस्तै, स्ट्यान्डर्ड च्यार्टर्ड बैंकको १८.५१, सनराइजको १८.३५, एभरेस्टको १८.१४, नबिलको १५.८५ र राष्ट्रिय वाणिज्य बैंकको ११.७७ प्रतिशतले नाफामा गिरावट आएको छ । सिद्धार्थको ८.२६, हिमालयनको ८, नेपाल बैंकको १.५५ र कुमारी बैंकको ०.३१ प्रतिशतले नाफा घटेको छ ।

त्यसैगरी सेञ्चुरी बैंकको नाफामा ३३.९७, ग्लोबल आइएमईको ११, एनसिसीको १०.७४, प्राइमको ४.२७, एनआइसी एसियाको ३.२४ र एनएमबी बैंकको ०.५९ प्रतिशतले नाफा वृद्धि भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले चार अर्ब ४५ करोड नाफा आर्जन गरेको छ भने सिभिल बैंकले ४५ करोड ७० लाख नाफा आर्जन गरेको छ । नबिल बैंकले तीन अर्ब ५६ करोड, एनआइसी एसिया बैंकले तीन अर्ब १२ करोड नाफा कमाएको छ ।

गत वर्ष जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकले तीन अर्ब आठ करोड कमाएको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले दुई अर्ब ५७ करोड नाफा कमाएको छ । हिमालयन बैंकले दुई अर्ब ५४ करोड, माछापुच्छ्रे बैंकले एक अर्ब २५ करोड र सानिमा बैंकले एक अर्ब ७० करोड नाफा गरेको छ ।

प्रकाशित मिति: Aug 15, 2020

प्रतिक्रिया दिनुहोस्