Logo
१३ बैशाख २०८१, बिहीबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नियुक्तिहरुहरुको विषयलाई लिएर बालुवाटारमा ओली-प्रचण्डबीच चर्काचर्की

नेपाल कम्युनिस्ट पार्टीभित्रको असन्तुष्टि फेरि चुलिएको छ । आज बालुवाटारमा साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चर्काचर्की भएको छ ।

डेढ महिनायताको विवाद समाधानका लागि बसेको बैठकमा अध्यक्ष प्रचण्डले ओलीले एकपक्षीय ढंगले नियुक्तिहरु गरिरहेको भन्दै आपत्ती जनाएको बुझिएको छ ।

उनले लगानी बोर्डको अध्यक्षमा सुशील भट्टलाई नियुक्ति दिएकोमा प्रश्न उठाएका थिए । ओलीले योग्यताका आधारमा नियुक्ति गरेको जवाफ दिएका थिए ।

प्रचण्डले पनि यस्तै गतिविधि गर्दै गएकैले राजीनामा माग्नुपरेको जवाफ दिएको विश्वस्त स्रोतले बताएको छ । बैठकमा भट्टको नियुक्तिको विषयमा दुई अध्यक्षबीच चर्काचर्की परेको थियो ।

प्रचण्डले केन्द्रीय कमिटी बैठक बसी टुंगोमा पुग्न सहमत हुन आग्रह गरेका थिए । तर, ओलीले कोरोना भाइरसको जोखिम बढ्दै जाँदा केन्द्रीय कमिटी डाक्न नसकिने जवाफ दिएका थिए ।

उनले सचिवालयबाट टुंगो लगाउन भने । यस विषयमा पनि दुई अध्यक्षबीच मत बाझिएर चर्काचर्की परेको थियो । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए ।

खनालले पनि ओलीको कार्यशैलीको आलोचना गरेका थिए । उनले पनि भट्टको नियुक्तिमा प्रश्न उठाएको बुझिएको छ ।सहमतिका लागि भनेर बसेको बैठकमा चर्काचर्की भएपछि विना निष्कर्ष टुंगिएको छ ।

बुधबार पुनः साँझ ५ बजे बैठक बस्ने सहमति भएको छ । यसअघि आज कोभिड १९ रोकथामका लागि चाल्ने कदमका लागि प्रधानमन्त्री ओलीले विज्ञहरुसँग परामर्श लिंदा प्रचण्डलाई पनि निम्तो गरेपनि अनुपस्थित भएका थिए ।

उनी बस्ने टेबुल नै खाली थियो । बालुवाटारमा बसेको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्