Logo
१५ चैत्र २०८०, बिहीबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी

प्रदेश नं ५ स्थित बाँकेमा समुदायस्तरमै कोरोना देखिएपछि बाँके जिल्ला प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ ।

नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकैदिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण रोक्न हाललाई तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनका अनुसार अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्किन प्रशासनले आग्रह गरेको छ ।

प्रशासनको आग्रहलाई अटेरी गरी अनावश्यक रुपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुनेछ ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दुरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ ।

त्यसैगरी, एम्बुलेन्स, शव बाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालबाहक गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउने छन् ।

पछिल्लो पटक सङ्क्रमण देखिएका ३० जनाको सम्पर्कमा आएका ४२३ व्यक्तिको कोरोना परीक्षणका लागि स्बाव सङ्कलन गरिको छ ।कन्ट्याक ट्रेसिङ गर्दै समुदायमा कोरोना सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासन लागिपरेको छ ।

आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारी र व्यस्त रहने त्रिभुवन चोकको एक मिठाइ पसल सञ्चालकमा कोरोना सङ्क्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जका तीन आइसोलेशन केन्द्र र खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा गरी बाँकेका ५४ जना सङ्क्रमितलाई राखिएको छ ।

बाँकेमा हालसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ४३७ पुगेको छ ।

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्