Logo
१२ बैशाख २०८१, बुधबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामा नेपाली सुरक्षा गार्डलाई निर्घात कुट्ने नेपाली नै भएको खुलासा, सोमबार केश दर्ता हुने

मलेसियामा नेपाली कामदारमाथि कुटपिट भइरहेको भिडियो शुक्रबारदेखि सामाजिक सञ्जालमा भाईरल भइरहेको छ ।

४४ सेकेण्डको भिडियोमा कम्पनीमा सिनियरजस्तो देखिने व्यक्तिले नेपाली सुरक्षा गार्डलाई निर्घात रुपमा कुटपिट गरिरहेका छन् ।

अपार्टमेण्टको पार्किङ्गमा कुटिरहेका नेपाली श्रमिकलाई मले भाषामा गाली पनि गरिरहेका छन् । तर, नेपाली श्रमिकले भने चुपचाप पिटाई खाईरहेका छन् ।

भिडियो खिचिरहेका अर्को व्यक्तिले भने धेरै भयो छोडी देउ भनिरहेका छन् । हिन्दी लवजमा नेपाली शब्द प्रयोग गरी उनले अब छोडी देउ भनिरहेका छन् ।

सो भिडियो सामाजिक सञ्जालमा भाईरल भइसकेपछि मलेसिया स्थित नेपाली दूतावासले सुचना जारी गरी भिडियोमा भएका व्यक्तिको बारेमा जानकारी भएमा खबर गर्न आह्वान गरेको थियो । भिडियोमाथि कमेण्ट गर्दै धेरै नेपालीले कुटपिट गर्नेलाई कडा सजायको माग गरेका छन् । मलेसियास्थित विभिन्न निकायले सो घटनाको निन्दासमेत गरेका छन् ।

कुट्ने पनि नेपाली नै
मलेसियामा नेपाली कामदारमाथि कुटकुट गर्ने व्यक्ति नेपाली नै भएको फेला परेको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार नेपाली सुरक्षा गार्डमाथि कम्पनीका नेपाली सुपरभाईजले नै निर्घात रुपमा कुटपिट गरेका हुन् ।

पीडित नेपाली श्रमिक अहिले मलेसियास्थित नेपाली दूताबासमा आश्रय लिईरहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । कुटाई खाने नेपाली श्रमिकका दाईले नेपालबाट दूताबासलाई सम्पर्क गरेका थिए ।

राजदूत पाण्डेले भने, ‘हामी श्रमिक भएको स्थानमा गएर पीडितलाई दूतावासमा ल्याएका छौ । सुरक्षाका लागि उनलाई दूतावासमा नै राखिएको छ ।’

राजदूत पाण्डेका अनुसार पीडक नेपाली श्रमिक गैरकानुनी रुपमा मलेसियामा बस्दै आएका छन् । उनले पहिलो कम्पनी छोडी अहिलेको कम्पनीमा काम गर्न थालेको दूतावासले जनाएको छ । त्यस्तै दूतावासले पीडक श्रमिकलाई पनि सम्पर्क गरिसकेको छ ।

सोमबार प्रहरीमा मुद्दा दायर गरिने
नेपाली सुरक्षा गार्डमाथि भएको कुटपिटको घटनालाई मलेसियास्थित नेपाली दूतावासले सोमबार प्रहरीमा केश दर्ता गर्ने भएको छ । आइतबार सार्वजनिक विदा हुने भएकाले दूतावासले सोमबार मात्रै केश दर्ता गर्ने जनाएको छ ।

दूतावासले पीडकलाई सम्पर्कगरी सोमबार प्रहरीमा बोलाएको राजदूत पाण्डेले बताए । पाण्डेका अनुसार पीडकको भिसाको अवस्थाकोबारेमा भने विस्तृत जानकारी नभएको बताए ।

सोमबार प्रहरीमा उजुरी दर्ता भएपछि दूतावासले सम्पूर्ण जानकारी गराउने उनले बताए । समाचारका कारण उजुरी दर्तामा समस्या पर्ने भन्दै राजदूत पाण्डेले पीडक र पीडितको नाम र कम्पनी खुलाउन मानेनन् भन्दै नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्