Logo
२६ श्रावन २०७७
(August 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्जका मेयर सरावगी र सांसद यादवलाई कोरोना संक्रमण

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमण देखिएको छ।

उनमा हिजो संक्रमण पुष्टि भएको हो। यसको जानकारी सांसद यादव आफैंले गराएका छन्।

“मैले आफ्नो पीसीआर जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन”, सांसद यादवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “आफूलाई आइसोलेट गरेर अहिले आराममा छु। कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाँडै फर्किने छु।”

उनले आआफ्नो घरभित्र आत्मअनुसाशन कायम गर्दै सुरक्षित रूपमा बस्न, घरबाट अति आवश्यक काममा निस्किनु परे अनिवार्य मास्क लगाउन र समाजिक दूरी कायम राख्न सबैमा अनुरोध गरेका छन्।

उनले वीरगञ्जमा बढ्दो कोरोना संक्रमणको जोखिमबारे प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई जानकारी गराएको पनि बताएका छन्।

“वीरगन्ज क्षेत्रमा ५०० शय्याको अस्पताल, विज्ञ टोली पठाउने, समुदायमा जाँचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्ने लागायत माग राखेको छु”, सांसद यादवले लेखेका छन्, “उताबाट (प्रधानमन्त्रीबाट) सकारात्मक संकेत पनि प्राप्त भएको छ।”

पछिल्ला दिनमा वीरगञ्जमा कोरोना संक्रमणदर निकै बढिरहेको छ। यसअघि वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार ०८:५१

प्रतिक्रिया दिनुहोस्