Logo
१३ बैशाख २०८१, बिहीबार
(July 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कटारीका २३ वर्षीय युवा : जसको एम्बुलेन्समै अकालमा गयो ज्यान !

समयमै उपचार नपाउँदा विराटनगरमा एक व्यक्तिको अकालमै ज्यान गएको छ । नोबेल अस्पतालले भर्ना लिन नमानेपछि कोशी अस्पताल लगिएको उनको इमरजेन्सीछेऊमै एम्बुलेन्समै मृत्यु भएको हो ।

कटारी नगरपालिका ५ का २३ वर्षीय पदमबहादुर राईको ज्यान गएको हो । सास फेर्न समस्या भएपछि स१च १२०५ नम्बरको एम्बुलेन्समा राखेर विराटनगर ल्याइएको थियो ।

उनीसँगै कुरुवाको रूपमा थप २ जना महिलाहरू आएका थिए । एम्बुलेन्समै बिरामीको मृत्यु भएपछि कुरुवाको रूपमा आएका २ महिला एम्बुलेन्समै निकैबेरसम्म बेहोस भएका थिए ।

तर, उनीहरूलाई समेत कोशी अस्पतालका चिकित्सक तथा स्वास्थयकर्मीले वास्ता गरेनन् । पदमलाई दिउँसो २ बजे विराटनगरको नोवेलमा लगिएको थियो ।

तर नोबेलले फिर्ता गरेको थियो । एम्बुलेन्स चालक सुवास तामाङका अनुसार नोबेलले फिर्ता पठाएपछि कोशीमा ल्याएको थियो । तर कोशीमा पनि उस्तै अवस्था भएको उनले बताए ।

बिरामीमा कोरोना संक्रमण नभएको पुष्टि गर्ने आधार खोजिएको र त्यो आफूहरुसँग नहुँदा नोबेलले लिनै नमानेको उनले बताए ।

‘कोरोनाको शंकास्पद भन्दै कोशीका चिकित्सकले भर्ना गर्न मानेनन्’, उनले भने, ‘कोशीमा पुगेर एम्बुलेन्समा राखेको करिब एक घण्टापछि बिरामीको एम्बुलेन्सभित्रै मृत्यु भयो ।’

प्रकाशित मिति: Jul 24, 2020

प्रतिक्रिया दिनुहोस्