Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यु मिडियाका नाममा फेसबुक, युट्युबबाट अराजकता मच्चाइयो : मन्त्री खतिवडा

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले अहिले न्यु मिडियाका रूपमा आएका फेसबुक तथा युट्युबलगायत सञ्जालबाट अराजकता मच्चाउने काम पनि भइरहेकाले यस्ता गतिविधितर्फ सचेत बन्नुपर्ने बताएका छन् ।

“न्यु मिडियाबाट धेरै मानिसको मान, मर्यादामा आघात पुगेको , सामाजिक, राजनीतिक जीवनमा आँच आएको, मुलुक–मुलुकको सम्बन्धमा खलल पुग्ने गतिविधि भइरहेको प्रति समस्त सञ्चार जगत्को ध्यान जानु जरुरी छ”, सरकारका प्रवक्ता डा खतिवडाले भने ।

उनले प्रेस काउन्सिल नेपालको आज अपराह्न अवलोकन भ्रमण गरेका हुन । सो अवसरमा उनले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढ्दै गरेकाले पहिला मन्त्रालय आफैँ डिजिटलाइज्ड हुनुपर्ने बताए ।

सरकार डिजिटल ढाँचामा गइसकेकाले अबको कामकारवाहीमा कागजविहीन प्रविधिको अवलम्बन हुनुपर्नेमा उनको जोड थियो । त्यस्ता मिडियामाथि कारबाहीको काम काउन्सिलको भएकाले अरुको निगरानी गर्ने निकाय आफैँ सजग रहन पनि उनले सुझाव दिए ।

हालको सञ्चारसम्बन्धी कानूनमा के कस्तो सुधार गर्नुपर्ने हो सुझाव दिन मन्त्री डा खतिवडाले आग्रह गरे । उजूरी मात्रै गर्ने तर कारबाही नहुने भन्ने गुनासो नआओस् भन्दै उनले स्वतन्त्रताभित्र जवाफदेहिता पनि हुने धारणा राखे ।

सो अवसरमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलमा पहिले एक हजार सात सय अनलाइन सूचीकरण हुँदा सूचना विभागमा पाँच सय मात्र दर्ता भएको जनाउँदै काउन्सिलमा कानूनी संरक्षणका लागि र विभागमा प्रेस पासका लागि मात्रै दर्ता गराउने गरेको विगतको परिपाटीको चर्चा गरे ।

उनले मिडियाबाट आएका सामग्री हेर्ने र उजूरी सुन्ने जिम्मा काउन्सिलको भएको बताउँदै यसबीच भएगरिएका कामकारवाहीका विषयमा जानकारी दिए ।

काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले यस वर्ष हालसम्मकै सबैभन्दा बढी अर्थात् ७२० विद्युतीय माध्यम र १७९ छापा माध्यमसम्बन्धी उजूरी आएको तथा कोभिड -१९ को कहरबीच चार महिनाका अवधिमा १९७ अनलाइनलाई स्पष्टीकरण सोधिएको र दर्ता नभएका १०४ अनलाइनलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारवाही गरिएको जानकारी दिए ।

सो अवसरमा मन्त्री अर्थमन्त्री डा खतिवडाले मिडिया अनुगमन शाखाको अवलोकन प्रक्रियाबारे चासो राखेका थिए । मन्त्री डा खतिवडाको जिज्ञासाबारे सूचनाप्रविधि, अभिलेख र आचारसंहिता अनुगमन (विद्युतीय) शाखा प्रमुख रामशरण बोहराले जानकारी दिएको काउन्सिलले जनाएको छ । रासस

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्