Logo
२९ श्रावन २०७७
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनहुँ पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो, ५ जना अझै बेपत्ता

दमौली : अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या छ पुगेको छ ।

पहिरोले घर पुरिँदा व्यास नगरपालिका-९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका-८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका-६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पहिरोले घर पुरिँदा व्यास नगरपालिका-९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको निधन भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन् । कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ ।

सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोले पुरिएर मृत्यु भएको छ । त्यस्तै पहिरोले पुरिएर म्याग्दे गाउँपालिका-६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ ।

ऋषिङ गाउँपालिका-८ पल्ट्याङमा पहिरोले पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ भने बाँकी चार जना बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

स्थानीय अनबहादुर थापाको घर पहिरोले पुरिँदा जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी ५ वर्षीया अमिषा थापा, अनबहादुरको कान्छो छोरा २२ वर्षीय महादेव थापा र निजकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन् । सोही ठाउँकै ६० वर्षीय ज्योतिमाया थापाको भने उद्धारपछि उपचार भइरहेको छ ।

प्रकाशित मिति: २९ असार २०७७, सोमबार १४:५६

प्रतिक्रिया दिनुहोस्