Logo
८ बैशाख २०८१, शनिबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संखुवासभामा पहिरो : उद्धारमा खटिएका एकको मृत्यु ११ बेपत्ता, ९ घर बगे

प्रदेश नम्बर १ अन्तरगत संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाको वेसिन्दामा शनिबार राती पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीकार्य सुरु भएको छ ।

स्थानीयको सहयोगमा घटनास्थलमा प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवाटारबाटका ११ जना प्रहरी बेपत्ताको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।

उद्धारमा खटिएका मदन राईको भने अचान बहोस भइ मृत्यु भएको छ । दमको बिरामी रहेका राईको मृत्यु हृदयघातका कारण भएको प्रहरीले जनाएको छ ।

अविरल बर्षासँगै गएको पहिरोले ९ घर बगाएको हो । गोवासिंह राई, राममान राई, जुद्ध बहादुर राई (गैरी), जुद्ध बहादुर राई (माने), नजमाया राई, हर्कराज राई, भिम बहादुर राई, सन्दीप राई, सुभधन राईको घर बगाएको छ।

पहिरोमा ५ घरका ११ जना बेपत्ता भएका छन्। पहिरोमा ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरीहरु २१ वर्षीया एन्जीला राई (गर्भवती), ११ वर्षीया नम्रता राई बेपत्ता छन् ।

यसैगरी जुद्धबहादुर राई (गैरी) की ६५ वर्षीया श्रीमती गोरी माया राई र छोरी २२ वर्षीया प्रकृति राई सम्र्पकमा छैनन् । अर्का ५२ वर्षीय जुद्धबहादुर राई (माने) र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई हालसम्म बेपत्ता छन् ।

त्यसैगरी ७० वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज राई, उनकी श्रीमती ८२ वर्षीया आइतमाया राई बेपत्ता रहेका छन् । गेवा सिंह राईको घर पुरै बगाएको र उनको बायाँ हात र बायाँतिरको टाउकोमा गहिरो चोट लागेको छ।

उनको अवस्था गम्भीर छ । उनकी श्रीमती ६० वर्षीया फूलमाया राई, १४ वर्षीया छोरी भिमसरी राई सामान्य घाइते छन्। त्यस्तै ५५ वर्षीय भीमबहादुर राईको घर बगाएको छ भने उनको उद्धार गरिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य छ ।

सन्दीप राई र सुभधन राईको घर बगाए पनि उनीहरु सुरक्षित छन् । पहिरोमा बेपत्ताको खोजीका लागि सदमुकाम खाँदबारीबाट ३० जना सेना, १५ जना नेपाल प्रहरी र १५ जना ससस्त्र प्रहरीको टोली घटनास्थलतर्फ लागेको डिएसपी मल्लले बताए ।

मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकोप्टर घटनास्थलतर्फ लैजान तयारी अवस्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ ।

अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्छ ।

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्