Logo
६ बैशाख २०८१, बिहीबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वास्तु विज्ञान : कस्तो जग्गा सर्वोत्कृष्ट हुन्छ ?

उत्तम उपाध्यय न्यौपाने

भूमिको खण्ड इशान दिशातर्फ बढेको हुन्छ भने त्यस्तो प्रकारको स्थानमा निवास गर्ने मानिसलाई अवश्य पनि सुख, समृद्धि एवं शान्ति प्राप्त हुन्छ।

पञ्चतत्वको मिलान गर्नु नै वास्तुशास्त्रको प्रामाणिक मानिन्छ। जसअनुरूप जग्गा, जमिन तपाईं किन्दै हुनुहुन्छ भने धेरै होस पुर्‍याएर मात्रै किन्नुहोस्, जसको कारणले जीवनमा पीडा नहोस्, सुख, शान्ति र समृद्धि प्राप्त होस्।

किनकि वास्तुशास्त्र विशुद्ध विज्ञान हो यदि यस शास्त्रलाई अपनाएको खण्डमा प्रत्यक्ष या परोक्षरूपमा हामीलाई सकारात्मक ऊर्जा शक्ति प्राप्त भइरहन्छ।

मुख्यत: मानव जातिको मूलभूत आवश्यकता भनेको गाँस, वास र कपास हुन्, जसअनुरूप आज म यहाँहरूलाई वासअन्तर्गत गृह निर्माण गर्नुपूर्व जमिन (जग्गा) किन्दा कस्तो प्रकार जमिन शुभ हुन्छ र कुन अशुभ हुन्छ सम्भावित आकार एवं त्यसको फलबारेमा जानकारी गराउँछु।

वर्गाकार भूमि : जुन भूमिको लम्बाइ तथा चौडाइ बराबर हुन्छ, त्यसलाई वर्गाकार भूमि भनिन्छ। यस्तो भूमिमा निवास गर्नाले धन वृद्धि हुन्छ र मानसिक शान्ति प्राप्त हुन्छ।

आयातकार भूमि : जुन भूमिको दुवैतर्फका कोण समान हुन्छन् त्यसलाई आयातकार भूमि भनिन्छ। यस्तो प्रकारको भूमिमा बस्नाले सबै प्रकारको सिद्धिदायक योग हुन्छ।

वृत्ताकार भूमि : गोलाकार भूमिलाई वृत्ताकार भूमि भनिन्छ। यस्तो भूमिमा निवास गर्नाले गृहस्थलाई धनागम तथा लाभ हुने गर्छ।

अण्डाकार भूमि : भूमि हेर्दा अण्डा आकारको हुन्छ। यस्तो भूमिमा बस्नाले धन हानि, बिरामीको भय भइरहन्छ तथा यस्तो भूमि सबै प्रकारले हानिकारक हुने गर्छ।

मृदंगाकार भूमि : यस्तो भूमि हेर्दा मृदंगा (मादल) को आकारको हुन्छ, यसलाई मृदंगकार पनि भनिन्छ। मृदंगकार भूमि स्त्रीहरूका लागि मृत्युकारक हुन्छ।

व्यञ्जनाकार भूमि : यस्तो भूमि पंखा आकारको हुन्छ। व्यञ्जनाकार भूमि धन एवं पशुका लागि हानिकारक हुन्छ।

धनुषाकार भूमि : जुन भूमि धनुषको आकारको हुन्छ त्यसलाई धनुषाकार भूमि भनिन्छ। यस्तो भूमिमा निवास गर्नाले शत्रुभय भइरहन्छ, जुन एकदम कष्टकारक हुन्छ।

अर्धचन्द्राकार भूमि : जुन भूमि आधा चन्द्रमाका आकारको हुन्छ, त्यसलाई अर्धचन्द्राकार भूमि भनिन्छ। यस्तोमा निवास गर्नाले चोरी–डकैती आदिको डर भइरहन्छ।

डमरु आकारको भूमि : जुन भूमि डमरुको आकारको हुन्छ त्यसलाई डमरु आकारको भूमि भनिन्छ। यस्तो भूमिमा निवास गर्नाले आँखाको रोग हुने गर्छ। कहिलेकाहीं त अन्धो पनि हुन सक्छ।

विषमबाहु भूमि : यस्तो भूमि टेडोमेडो खालको हुन्छ त्यसलाई विषमबाहु भूमि भनिएको छ। यस्तो भूमिमा निवास गर्नाले दु:ख, अशान्ति तथा आर्थिक हानि हुने गर्दछ।

चतुष्कोणाकार भूमि : जुन भूमिमा चार कोण हुन्छन् त्यसलाई चतुष्कोणाकार भूमि भनिएको छ। यस्तो भूमिमा गर्नाले सुख, समृद्धि एवं शान्ति प्राप्त हुन्छ।

सिंहमुखाकार भूमि : भूमि जुन अगाडितर्फ धेरै र अगाडिको तुलनामा पछाडि कम हुन्छ त्यस्तो भूमिलाई सिंहमुखासन भूमि भनिएको छ। यस्तो भूमिलाई अशुभ मानिएको छ तर व्यापारिक प्रतिष्ठानका लागि भने यस्तो भूमिलाई शुभ मानिएको छ।

गोमुखाकार भूमि : जुन भूमिको भाग अगाडि कम हुन्छ तर अगाडिको तुलनामा पछाडि धेरै हुन्छ भने त्यस्तो भूमिलाई गोमुखाकार भूमि भनिएको छ। यस्तो भूमिमा निवास गर्नाले शुभ हुन्छ तर व्यापारिक प्रतिष्ठानका लागि अशुभ हुने मानिएको छ।

अष्टकोण भूमि : जुन भूमि आठ कोण भएर रहेको हुन्छ त्यस्तो भूमिलाई अष्टकोण भूमि भनिएको छ। यस्तो भूमिमा निवास गर्नाले सुख, समृद्धि एवं शान्ति प्राप्त हुने गर्छ।

षट्कोणाकार भूमि : जुन भूमिमा ६ कोण देखिन्छन् त्यसलाई षट्कोणाकार भूमि भनिएको छ। यस्तो भूमिमा निवास गर्नाले उन्नतिदायक तथा सुख, समृद्धि एवं शान्तिदायक हुने गर्छ।

भद्रासन भूमि : जुन भूमिको लम्बाइ एवं चौडाइ समान हुन्छ तथा मध्य भाग समतल हुन्छ भने त्यस्तो भूमिलाई भद्रासन भूमि भनिन्छ। यस्तो भूमिमा निवास गर्नाले अति उत्तम हुन्छ। यस्तो भूमिमा निवास गर्ने मानिसको सबै प्रकारले उन्नति भएको हुन्छ।

चक्राकार भूमि : चक्रको आकार देखिने भूमिलाई चक्राकार भूमि भनिन्छ। यस्तो भूमिमा निवास गर्नेले आर्थिक कठिनाइको सामना गर्नुपर्छ। यस्तो स्थानमा निवास गर्ने मानिसलाई दरिद्रताले सताउँछ।

त्रिकोणाकार भूमि : जुन भूमिमा तीनवटा कोणहरू हुन्छन् त्यसलाई त्रिकोणाकार भूमि भनिएको छ। यस्तो भूमिमा निवास गर्नेलाई सधैं राजभय भइरहन्छ।

शकटाकार भूमि : जुन भूमि गोरुगाडा आकारको हुन्छ, त्यसलाई शकटाकार भूमि भनिएको छ। यस्तो भूमिमा निवास गर्नाले धन नाश, बिरामी तथा अग्नि भय भइरहन्छ। विभिन्न दिशादेखि विभिन्न विदिशामा भूखण्ड विस्तारको भिन्नाभिन्नै प्रभाव पर्ने गर्छ।

भूमिको खण्ड इशान दिशातर्फ बढेको हुन्छ भने त्यस्तो प्रकारको स्थानमा निवास गर्ने मानिसलाई सुख, समृद्धि एवं शान्ति अवश्य प्राप्त हुन्छ। इशानका अतिरिक्त अन्य कुनै पनि स्थान अथवा दिशामा बढेको भूखण्डलाई अशुभ मानिएको छ।

विशेषत: नैऋत्य कोणको दिशामा बढेको भूखण्डलाई अशुभ फल दिने मानिएको छ। भूखण्ड किन्ने बेलामा यो आवश्यक हुन्छ कि यदि घरको मुख्य ढोका उत्तर, पूर्व, अथवा इशानमा हुन्छ भने त्यसलाई सर्व श्रेष्ठ मानिएको छ।

त्यस प्रकार पश्चिम, दक्षिण, आग्नेय तथा पश्चिम–वायव्यमा पनि मुख्य ढोका सडकतर्फ बाउन्ड्रीमा हुन्छ भने त्यसलाई पनि शुभ मानिएको छ तर पूर्व–आग्नेय, उत्तर–वायव्य वा नैऋत्य कोणतर्फ मुख्य ढोका बनाइन्छ भने त्यो अशुभको सूचक हो।

घर निर्माणका लागि भूखण्ड खरिद गर्ने बेलामा अवश्य निश्चित गर्नुपर्छ। जमिन कुन दिशाको सडकमा अवस्थित छ। किनभने प्रत्येक दिशाको लाभ भिन्नाभिन्नै हुने गर्छ। जुन भूमिको चारैतिर सडक हुन्छ त्यस्तो भूखण्डलाई सर्व श्रेष्ठ भूमि मानिन्छ।

पूर्व, पश्चिम तथा दक्षिण तीनतर्फ सडक हुन्छ चने त्यस्तो भूमिलाई सामान्य मानिएको छ। उत्तर, पूर्व तथा पश्चिम तीन दिशामा सडक हुन्छ भने त्यसलाई पनि सामान्य श्रेणीको भूमि मानिन्छ। उत्तर, पश्चिम तथा दक्षिणमा सडक हुन्छ भने त्यसलाई पनि सामान्य श्रेणीको भूमिका रूपमा लिइन्छ।

उत्तर र पूर्वतर्फ सडक हुन्छ भने त्यसलाई सर्व श्रेष्ठ भूमिका रूपमा लिइन्छ। उत्तर, पूर्व तथा दक्षिण तीनतर्फ सडक हुन्छ भने त्यो पनि सामान्य श्रेणीको भूमि हुन्छ। पूर्व तथा दक्षिण दुईतर्फ सडक हुन्छ भने त्यो पनि सामान्य श्रेणीको भूमि हुन्छ।

उत्तर र दक्षिण दुईतर्फ सडक हुन्छ भने त्यस्तो जमिन सामान्य प्रकारको हुन्छ। पश्चिम र उत्तर दिशामा सडक हुन्छ भने त्यो पनि सामान्य श्रेणीको भूमि हुन्छ।

पश्चिम तथा दक्षिणतर्फ सडक हुन्छ भने पनि त्यसलाई सामान्य भूमिमा वर्गीकरण गरिन्छ। पूर्व र पश्चिमतर्फ सडक भए त्यस्तो भूमि सामान्य हुन्छ। इशान कोणले गोलाइ लिएको र उत्तर तथा पूर्वमा सडक हुन्छ भने पनि त्यो सामान्य भूमि हुन्छ।

दक्षिणतर्फ सडक हुन्छ भने त्यस्तो भूखण्डलाई अशुभ मानिएको छ। यस्तो जमिनलाई सित्तैमा पनि लिन हुँदैन। पश्चिमतर्फ सडक हुन्छ भने त्यसलाई समान्य भूमि मानिन्छ यस्तो भूमिलाई व्यावसायिक दृष्टिले उत्तम हुन्छ।

पूर्वतर्फ सडक हुन्छ भने त्यस्तो भूमिलाई सर्व श्रेष्ठ मानिन्छ। उत्तर दिशामा सडक हुन्छ भने त्यस्तो भूमि सर्व श्रेष्ठ हुन्छ। आग्नेय कोणतर्फ गोलाइ लिएको भूमि हुन्छ भने त्यो अशुभ हुने गर्छ। यदि किनिसक्नुभएको जग्गामाथि उल्लिखित गरेअनुरूप न भएको खण्डमा क्रिस्टल, पिरामिड, क्रिस्टल बल्ब तामाको तार आदि प्रयोग गरेर वैज्ञानिक ढंगबाट वास्तु मिलाउन सकिन्छ।

न्यौपाने रत्न एवं वास्तु विशेषज्ञ हुन्।

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्