Logo
७ बैशाख २०८१, शुक्रबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगर-जोगबनी नाका बन्द तर अन्य नाकाबाट भारततर्फ आवतजावत जारी

कोभिड १९ को महामारीसँगै अन्तर्राष्ट्रिय सीमा बन्द गरिए पनि मोरङका विभिन्न क्षेत्रबाट भारततर्फ सर्वसाधारणको ओहोरदोहोर जारी नै रहेको छ।

भारतसँग सीमा जाेडिएका माेरङका विभिन्न सीमाक्षेत्रमा लुकीछिपी विहान, मध्याह्न र साँझपखमा सर्वसाधारणको आवतजावत रोकिएको छैन।

भारततर्फको मुख्यद्वार १ नम्बर गेटमा भने सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणको आवतजावत भने न्यून रहेको छ।

भारतबाट अवैध रूपमा आउने मानिसहरूका कारण प्रदेश १ को राजधानी विराटनगर लगायतका सीमावर्ती क्षेत्रका बस्तीहरू कोरोना संक्रमणको उच्च जोखिममा परेको स्थानीयको गुनासाे छ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलका अनुसार नाकाबाट अवैध रूपमा हुने आवतजावत रोक्न महानगरपालिकाले विशेष पहल गरिरहेको छ।

नेपालबाट भारततर्फ किनमेलका लागि विराटनगरस्थित मटेरुवा र दरैयाबस्ती नाका प्रयोग गरी दैनिक रूपमा सयौंको संख्यामा मानिसहरू जाने गरेको गुनासो आएपछि प्रहरीलाई जानकारी गराई ती नाकाबाट हुने आवतजावत रोकिएको उनको दावी छ।

पोखरेलले भने, ‘मटेरुवा र दरैयाबस्तीको नाका प्रयोग गरी भारतर्फ किनमेल गर्न जानेहरूलाई रोक लगाइएको छ।’ भारतसँग खुला सीमाका कारण अवैध रूपमा हुने आवतजावत पूर्णरूपमा नियन्त्रण गर्न भने चुनौती रहेको पोखरेलले स्वीकार गरे।

नेपाली सीमातर्फ दरैयाबस्ती, दक्षिण गेट, सुगरमिलतर्फबाट नेपालीहरु नागरिक भारततर्फ किनमेल गर्न जाने गरेको वडा नम्बर १६ का सदस्य अशोक मण्डलले बताए।

वडाले मण्डललाई सीमाक्षेत्रको गतिविधिका लागि विषेश निगरानीका लागि खटाएको छ। उनी आवतजावत रोक्न असमर्थ रहेका छन्।

मण्डलका अनुसार सुगरमिलदेखि पारीपट्टि भारतीय क्षेत्रमा किराना पसल खुलेको हुनाले सस्तो खरिदका लागि स्थानीय पुग्ने गरेका छन्। जनप्रतिनिधि भएका हिसाबले समेत उनीहरुलाई रोकिहाल्न नसकिएको उनको भनाइ छ।

सो क्षेत्रमा विहान बेलुका सर्वसाधारणहरु सिटी सफारीदेखि निजी मोटरसाइकल लिएरै पुग्ने गरेको स्थानीयको भनाई छ। स्थानीयका अनुसार लकडाउनका क्रममा सीमा बन्द भएको अनुभव सो क्षेत्रमा गरिएको छैन।

स्थानीय सुर्यमान बज्राचार्यका अनुसार पछिल्लो समय मोटरसाइकल नै लिएर नाकामा लागुपदार्थ दुर्व्यसनीसमेत पुग्ने गरेका छन्।

अर्कोतर्फ मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक मानबहादुर राईले सीमा क्षेत्रमा सहजै रूपमा आवतजावत गर्न नदिइएको दाबी गरे।

उनले नेपाल र भारतबीच भएको सहमति अनुसार मुख्य नाकाबाट मात्रै सुरक्षाका उपाए अपनाएर भारततर्फ जाने र नेपाल भित्रने व्यवस्था गरिएको जानकारी दिए।

सीमा क्षेत्रमा निगरानी बढाएसँगै पछिल्लो समय अवैध रूपमा आवतजावत गर्नेहरू धमाधम पक्राउ परिरहेको राईको दावी छ।

कतिपय अवस्थामा व्यवहारिक कठिनाइका कारण आवतजावत पूर्णरूपमा रोक लगाउने अवस्था भने नरहेको राईले बताए।

राईका अनुसार कतिपय भारतीयहरू नेपालतर्फ खेती गर्न आउने र नेपालका पनि भारततर्फ खेती गर्न जाने गरेका कारण यस्ता किसानहरूलाई रोक्न समस्या हुने गरेको छ।

 

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्