Logo
२४ श्रावन २०७७
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच आज पनि छलफल

पछिल्लो समयमा नेकपाभित्र आन्तरिक विवाद संघर्ष चर्किरहेको अवस्थामा नेकपाका दुई अध्यक्षबीच आज पनि भेटवार्ता हुँदै छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार जाँदैछन् ।

स्रोतका अनुसार ओलीलाई भेट्न प्रचण्ड बिहान साढे १० बजेतिर बालुवाटार जान लागेको जानकारी दिएका छन् ।

सोमबार स्थायी कमिटी बैठक बस्न लागेकाले दुई अध्यक्षबीच सहमतिको अधिकतम प्रयास हुन लागेको नेताहरु बताउँछन् ।

स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको छ ।

ओलीले दुवै पद नत्याग्ने अडान लिँदै आएका छन् भने एउटा पद भए पनि छाड्नु पर्ने ओली इतर समूहको दबाब छ ।

दुई अध्यक्षबीच अधिकतम सहमतिको प्रयास गर्ने भन्दै दुई दिनका लागि स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

तर, हालसम्मका वार्ताले सहमतिको प्रयास असफल हुँदै गएपछि नेकपा विभाजनउन्मुख रहेको चर्चा चलिरहेको छ ।

स्थायी कमिटी सदस्यहरुले गैरजिम्मेवार अभिव्यक्तिले पद त्याग्नुपर्ने माग गरेपछि ओलीले पार्टी बिभाजनको धम्की दिएका छन् ।

सोही तयारीअनुसार नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएको, संसद अधिवेशन अन्त्य गरेको र ४० प्रतिशत सांसदभन्दा कमले पनि दल विभाजन गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याउने गृहकार्यमा ओली लागेको चर्चासमेत हुँदै आएको छ ।

शनिबार साँझ मन्त्री र राज्यमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने तयारी भइरहेको अभिव्यक्ति दिएपछि नेकपाको विवादले नयाँ मोड लिएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भनेर झुटो प्रचार गरिएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको अध्यावधिक नक्सा जारी गरेपछि आफूलाई भारतले हटाउन लागेको र यो खेलमा पार्टीभित्रैका नेताहरु पनि संलग्न रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि ओलीको पार्टीभित्र र बाहिरबाट आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति: २१ असार २०७७, आईतवार ११:१५

प्रतिक्रिया दिनुहोस्